ताजा समाचार

टेलिकम कम्पनीको बद्‍मासी रोक्न र टेलिकम्युनिकेसन कोल्याप्स हुन नदिन टेरामक्स आवश्यक: प्राधिकरण अध्यक्ष खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीको बद्‍मासी रोक्न र टेलिकम्युनिकेसन कोल्याप्स हुन नदिन टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) आवश्यक परेको दाबी गरेका छन् । अध्यक्ष खनालले आइतबार पत्रकार सम्मेलन गर्दै टेलिकम कम्पनीहरूले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बद्मासी भएको छ भन्ने रोक्नका लागि ‘टेरामक्स’ आवश्यक परेको स्पष्ट पारेका हुन् ।

म्यानुअलरुपमा सेवा प्रदायकलाई नियमन गर्न असहज भएकाले ‘टेरामोक्स’ को आवश्यकता परेको उनले जनाए । टेलिकम कम्पनीहरूले सेवाग्राहीलाई सेवा दिएवापत् सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरूको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागिएको उनकोे भनाइ छ । अध्यक्ष खनालले पत्रकार सम्मेलनमा भने, ‘पछिल्लो समय सेवा प्रदायकको कारोबार घटिरहेको छ । सो कारोबार हामीले म्यानुअल नै स्थलगत गएर चेकजाँच गर्ने गरेका छौं । टेरामस्क प्रविधि सुरु गरेपछि यो झन्झटबाट मुक्त हुन्छौ ।’

टेरामस्क प्रविधि खरिद गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आइपुगेपछि मूल्य धेरै देखेर भन्सार कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीरकण विभाग र राजश्व अनुसन्धान विभागलाई पत्राचार गरेको पनि पत्रकारसामु उनले प्रष्ट पारे । भन्सार कार्यालयको पत्रअनुसार अख्तियारले खरिद प्रक्रियामा सहभागी सबैमाथि रेकी गर्न सुरु गरेको बताउँदै केही व्यक्तिलाई बोलाएर बयान समेत लिन सुरु गरिसकेको अध्यक्ष खनालको भनाइ छ ।

टेलिकम कम्पनीहरूले गर्ने बद्मासी रोक्न टेरामक्स निकै उपयोगी हुने अध्यक्ष खनालले दाबी गरेका छन् ।  टेरामक्सले व्यक्तिगत फोन ट्याप नगर्ने दाबी गर्दै उनले व्यक्तिगत डेटा पनि नराख्ने उनले प्रष्ट पारे । टेलिकमको डेटा प्रयोग भएर पनि ठगी भएको विषयलाई रोक्न टेरामक्स आवश्यक भएको खनालको भनाइ थियो । टेलिकम सेक्टरमा २०७४/७५, सन् २०१७ को जनावरीदेखि नेपालमा फोर जी सेवा लन्च भएदेखि चारसय गुणा बढी डेटा प्रयोग भएको छ । फोर जी लन्च भन्दा पहिला प्रयोग गर्ने डेटाभन्दा अहिले चारसय गुणा बढी टेलिकमले डेटा प्रयोग गरेको हो । सिम बिक्री पनि बढेको छ ।

तर नेपाल टेलिकमको २०७४/७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजस्व घटेको जनाउँदै अध्यक्ष खनालले भने, ’यही आधारमा गयो भने नेपालको टेलिकम्युनिकेसन कोल्याप्स हुनसक्छ । घाटामा कसैले व्यापार गर्दैन । प्राधिकरणले अहिलेसम्म टेलिकमबाट प्रयोग भएको डेटा एक–एक जनाबाट हेरिएको छ । तर टेलिकमले डेटा नदिने, रियल टाइममा डेटा आवश्यक भएको बेला कर्मचारी आएको हुँदैन । प्राधिकरणले हरेक डेटा मेनुयलरुपमा गरेर हुँदैन भनेर टेरामक्स जडान गर्न लागेको हो ।’

ग्राहकको गोपनियतामा टेरामक्स प्रविधिले कुनै आँच नआउने पनि प्रष्ट पारेका छन् । टेरामक्सले अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआइपी गेटवेज पहिल्याउने उनले दाबी गरे ।  दुरसंचार सेवामा आपराधिक क्रियाकलापको निरीक्षण, न्युनीकरण गरेर दूरसंचार सेवालाई विश्वासिलो र गुणस्तरीयता मापन गर्ने उनले जानकारी पनि दिए । टेरामोक्स संचालनका लागि कार्यविधि बन्न बाँकी रहेको जनाउँदै  कार्यविधि बनाउने निर्णय भएपनि अपरेटरसँग छलफल हुन बाँकी रहेको पत्रकारसामु अध्यक्ष खनालले  स्पष्ट पारे ।

यसैगरी,प्राधिकरणका प्रविधि विज्ञ मोहम्मद हर्वले फोन ट्यापिङ गर्ने कुनै पनि उद्देश्यले यो प्रणाली ल्याउन नलागेको जनाए । दूरसञ्चार क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियमन, निरीक्षण गर्न तथा सेवा प्रदायकबाट हुने सेवाको मापन गर्न टेरामस्क प्रविधि ल्याइएको हर्बको दाबी थियो । हर्वले भने,‘ टेरामस्कले व्यक्तिगत कल ट्यापिङ गर्दैन् । यसले कुन सेवा प्रदायकले कति फोन कल देशभर या विदेशमा सुविधा दियो ? यसको लेखा राख्ने गर्छ । यस्तै, यसले कल वाइपासको समस्यालाई नियन्त्रण गर्न पनि सहयोग गर्छ ।’ टेरामस्कले कुन कम्पनीले कति सेवा प्रवाह गर्यो ? त्यसको हिसाबकिताब राख्ने हर्वको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org