ताजा समाचार

त्रिदेशीय ट्वान्टी–२० श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम घोषणा,सन्दिप लामिछानेले नखेल्ने

काठमाडौं । नेपालको घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले सोमबार रोहीत पौड्यलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

उक्त श्रृङ्खलामा नेपालका बलर ललितनारायण राजवंशीले पनि पुनरागमन गरेका छन् । क्लाभिकल बोन (ब्युटी बोन) फ्र्याक्चरका कारण ललित यसअघि टिमबाट बाहिर थिए । चोटका कारण उनले चीनमा भएको १९औँ एसियाली खेलकुद गुमाएका थिए ।

घरेलु मैदानमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपाली टिमले कार्तिक १ गते यूएईसँग खेल्ने छ भने, कार्तिक २ गते र ४ गते हङकङसँग खेल्ने तालिका रहेको छ ।

नेपालले कार्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्ने छ । यूएई र हङकङ भने कार्तिक ५ र ८ मा भिड्ने छन् ।

शृङ्खलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । शृङ्खलाको फाइनल कार्तिक १० गते हुने छ ।

प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुने छ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने छन् ।

नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृङ्खला आयोजना गर्न लागेको हो ।

नेपाली टिममा

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भन्डारी, लोकेश बम, सूर्य तामाङ, मौसम (श्याम) ढकाल रहेका छन् । यो प्रतियोगितामा नेपालका स्पिन बलर सन्दिप लामिछानेले नखेल्ने भन्दै केही समय अघि राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org