ताजा समाचार

जाजरकोट भूकम्प: मानवीय क्षतिको यकिन विवरण आउन समय लाग्ने, सग्ला घर देख्न मुस्किल

१८ कात्तिक, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी १२८ जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं घर-गोठहरु भत्किएका छन् ।

भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले आज बिहान ६ बजेसम्म बारेकोट गाउँपालिकामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताए । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना संकलन गर्न नसकिएको उनले बताए ।

आफू विभिन्न वडाहरुमा पुग्दा घरहरुमा व्यापक क्षति पुगेको देखेको उनले जानकारी दिए । ‘म भूकम्प गएदेखि नै मोटरसाइकल लिएर वडा\वडामा पुगेर अवस्था बुझिरहेको छु । अहिलेसम्म हाम्रो पालिकामा मानवीय क्षति भएको दुःखद खबर सुन्नु परेको छैन,’ उनले भने, ‘तर सग्ला घरहरु देख्न मुस्किल छ ।’

अहिलेसम्म वडानम्बर १, २, ३ र ९ मा भूकम्पले बढी क्षति पुगेको आफूले देखेको उनले बताए ।गाउँपालिकाको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्दा त्यहाँको अवस्था बुझ्न भने बाँकी रहेको उनले बताए । ‘म मोटरसाइकल जान सक्ने प्राय सबै वडा(वडामा पुगिरहेको छु, कतिपयलाई फोन गरेर वस्तुस्थिति बुझिरहेको छु । तर कतिपय ठाउँ, खासगरी माथिल्लो भेगमा सम्पर्क हुन सकिरहेको छैन ।’

उनले प्रहरी र स्वास्थ्यकर्मीहरुलाई रातिदेखि नै खोज, उद्धार, राहत र उपचारमा खटाइएको जानकारी पनि दिए ।गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका(१ रामिडाँडा केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । सुक्खा पहिरो जाँदा ठाउँ(ठाउँमा सडकहरु अवरुद्ध भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org