ताजा समाचार

चितवनमा निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारे, निकुञ्ज बेखबर

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको भेटिएको छ । निकुञ्जको चपरचुली पोष्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा खाल्डो खनेर दुई वयस्क पोथी गैँडा मारिएको अवस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उक्त क्षेत्रमा दुई फरक खाल्डो खनी दुईवटा पोथी गैँडा मारिएको अवस्थामा भेटिएको छ ।

मारिएकोमध्ये एउटा १८ वर्ष र अर्को ६ वर्षको पोथी गैँडा छन् । दुबैको खाग भने काटिएको अवस्थामा रहेको छ । १८ वर्षको गैँडाको करिब १० दिन र ६ वर्षको गैँडा ३ दिनअघि मारिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । १८ वर्षको गैँडाको चाहिँ खाग काटिएको हो वा आफैं झरेको हो चिनिन नसकिने अवस्थामा भएको उनले बताए ।

हिजो बिहीबार निकुञ्जको गस्ती टोलीले खाग नभएको अवस्थामा दुई गैँडा भेटेको हो । तिवारीका अनुसार चितवन अनुसार बिहीबार राति नै निकुञ्जको टोलीले गैँडाको मुचुल्का उठाइसकेको छ ।

गैँडा मारिएको क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र हो । तिवारीले उक्त क्षेत्र निकुञ्ज प्रशासनको टोलीले निरन्तर गस्ती गरिरहेको स्थान हुँदाहुँदै पनि दुई गैँडा मारिदा प्रशासनलाई गम्भीर बनाएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org