ताजा समाचार

धनगढीलाई हराउँदै ललितपुर सिटी नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं । रोमाञ्चक फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो ।

३७औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर, धनगढीको यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई खेलमा फर्काए ।

दोस्रो हाफमा ललितपुरले दुई गोल थप्यो । ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई २–१ को अग्रतामा राखे । त्यसको आठ मिनेटपछि इजेकेलले गोल गर्दै ललितपुरलाई ३–१ को अग्रतामा पुर्‍याए ।

इन्ज्युरी समयमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई ३–२ को अवस्थामा ल्याए पनि टिमको हार टार्न सकेनन् । त्यसअघि, ८०औँ मिनेटमा आगेमाङले रातो कार्ड पाएपछि धनगढी १० खेलाडीमा समेटिएको थियो ।

धनगढी लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्यो । पहिलो संस्करणको फाइनलमा पनि काठमाडौं रेजर्ससँग हार हारेपछि धनगढीले उपविजेतामा चित्त बुझाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org