ताजा समाचार

संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित

काठमाडौं । पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

शान्तिनगर गाउँपालिका–५ की सुरक्षा चौधरी पछिल्लो समय संस्कृति संरक्षणमा जुटेकी छन् । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनी बताउँछिन् । चौधरीले थारुको पहिचानका रुपमा रहेका बड्का नाँच, छोक्रा नाँच र सख्या नाच नाच्न सिकेकि छन् ।

“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । सार्वजनिक कार्यक्रममा सहभागी हुन र नाच्न मन लाग्दैन थियो,” उनले भनिन्, “तर अहिले सहज हुँदै गएको छ । आफ्नो जातिगत वेषभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै चौधरीलाई थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायत पहिरनमा सजिन मन लाग्ने गरेको छ । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको चौधरीले बताईन् ।

विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभासम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० की अनिता चौधरी बताउँछिन् । अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्छिन् ।

“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेकी छु”, उनले भनिन्, “कला सस्कृतिका बारेमा ज्ञान पाइनुका साथै आम्दानीसमेत हुने गरेको छ ।”

पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्ने तथा पाहुनाको स्वागतमा उनीहरु खटिने गर्छन् । यो क्रम बढ्दै गएको छ । घोराही–११ वनघुस्राका रामप्रसाद चौधरी आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकास गर्न युवा पुस्ता अग्रसर भएको बताउँछिन् ।

“थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, भ्रmमालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, उनले भनिन्, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पुगेको छ ।”

थारु जातिमा सखिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गिविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । थारु कला संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेबारे प्रशिक्षणको व्यवस्था हुनुपर्ने चौधरी बताउँछिन् । थारु समुदायको विभिन्न बाजा संरक्षणका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org