ताजा समाचार

यू-१९ विश्वकप : नेपालले पहिलो खेल आज न्युजिल्यान्डसँग खेल्दै

काठमाडौँ । यू -१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १:४५ बजे सुरु हुनेछ । हालसम्म नेपाल न्युजिल्यान्डविरुद्ध अपराजित रहेको छ । नेपालले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । न्युजिल्यान्डसँगै नेपालको समूहमा अफगानिस्तान र पाकिस्तान पनि परेका छन् । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको हो ।

समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन-तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन-तीन टोली एउटा समूहमा रहने छन् ।

यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन(तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई/दुई खेल खेल्नेछन् । समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन । समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।

‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई-दुई टोली यू-१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ । भारत यू-१९ विश्वकपको साविक विजेता राष्ट्र हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।

यू-१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यू-१९ विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी १६ वटै राष्ट्रका लागि दुई-दुईवटा अभ्यास खेल खेलाउने व्यवस्था मिलाएको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा सात विकेटले हराएको थियो ।

नेपाल र वेस्ट इन्डिजबिचको दोस्रो अभ्यास खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । औपचारिक अभ्यास खेलअघि खेलिएको दुईवटा अनौपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org