ताजा समाचार

२३ औं ‘आहारारा पोखरा’ गोल्डकप आजदेखि सुरु हुँदै

पोखरा । मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब भिड्दैछन् । २०५८ सालदेखि निरन्तर हुँदै आएको आहारारा पोखरा गोल्डकपमा हालसम्म थ्रीस्टारले ५ पटक र सहाराले एकपटक उपाधि जितेका छन् । जसमा आयोजक सहारा ३ पटकमात्रै फाइनल पुगेको छ भने थ्रीस्टार ६ पटक फाइनल पुगेको छ ।

आयोजक सहारा र थ्रीस्टार दुवै टिम २०६९ को ११औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेका थिए । त्यसबेला थ्रीस्टारले सहारालाई १(० ले हराएको थियो । त्यसअघि २०६३ को पाँचौं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पनि दुवै टिम प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजक सहारालाई थ्रीस्टारले ३–० ले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको थियो ।

नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुँन लागेका हुन् ।माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

यस वर्षको सहारा वर्षोत्कृष्ट खेलाडी सम्मान राष्ट्रिय फुटबल खेलाडी आयुष घलानले पाउने भएका छन् । २०७४ देखि बर्सेनि एकजना फुटबलरलाई सम्मानसहित राशि ५० हजार रुपैयाँ आयोजकले प्रदान गर्दै आएको छ ।राष्ट्रिय टिमका मिडफिल्डर घलानलाई नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले आयुषलाई नेपाली राष्ट्रिय टिममा प्रवेश गराएका हुन् । उनी हेटौंडाका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org