ताजा समाचार

आर्मी आहारारा गोल्डकपको सेमिफाइनल प्रवेश

काठमाडौं । आहारारा पोखरा गोल्डकपमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले संकटालाई ३–० ले पराजित गरेको हो । आर्मीको जितका लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरे । खेलमा आर्मीका जिलेप्सीजंग कार्कीले पहिलो हाफको अन्तिममा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

उनले खेलका ४५ औं मिनेटमा कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसलाई हेडमार्फत सुन्दर फिनिसिङ दिए । खेलको ४९ मिनेटमा दिनेश हेम्जङ व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

हेम्जङको प्रहारलाई रोक्ने क्रममा संकटाका कलदीप कार्कीले ह्यान्ड गर्न पुगेपछि आर्मीले पेनाल्टी पाएको थियो । उनले आफूले पाएको पेनाल्टीलाई बिनाकुनै गल्ती गोलमा परिणत गरे । त्यस्तै, खेलको ७६ औं मिनेटमा हेम्जङले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई अझै फराकिलो बनाए । उनले जिलेप्सीजंग कार्कीको असिस्टमा बललाई जाली चुमाए ।

संकटा बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने आर्मीले प्रिक्वार्टरफाइनलमा नवप्रवेशी राइजिङ स्टारलाई १–० ले पराजित गरेको थियो । संकटाले पोहोर फाइनलमा अमेरिकी भुटनिज युथ स्पोर्टस् क्लबलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।

आर्मीले अब सेमिफाइनल खेल माघ १८ गते चर्च ब्वाइज र एपीएफमध्येको विजेता टिमसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका लागि चर्च ब्वाइज एपीएफबीच माघ १६ गते प्रतिस्पर्धा हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org