ताजा समाचार

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगियो, कसको भागमा कुन ?

काठमाडौं । पुरानो गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको सरकारले मन्त्रालयहरुको भागबण्डा टुंगो लगाएको छ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), रास्वपासहितका सत्ता साझेदार दलले मन्त्रिपरिषद्मा भागबण्डा टुंगो लगाएका हुन् ।

बुधावार टुंगिएको भागबण्डाअनुसार माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री,माओवादी उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ ।

सुदन किराँतीको ठाउँमा पर्यटन मन्त्रालयको जिम्मेवारी हितबहादुर तामाङले पाउने छन् भने ऊर्जामा शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखा शर्मा दोहोरिने तय भएको छ ।

यसैगरी, एमालेका तर्फबाट सरकारमा पार्टी सचिव रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् । महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने तय भएको छ ।

एमालेबाट यसअघि नै पदम गिरीले शपथ लिइसकेका छन् भने दामोदार भण्डारी, हरि उप्रेती, राजेन्द्र राई, ज्वालाकुमारी साह, भगवती चौधरी र बलराम अधिकारी पनि मन्त्री बन्ने तय भएको छ ।

उनीहरूले पाउने मन्त्रालय यकिन हुन बाँकी छ । स्रोतका अनुसार गिरीले कानून, उप्रेतीले रक्षा, चौधरीले महिला बालबालिका, राईले खानेपानी, भण्डारीले उद्योग, साहले कृषि र अधिकारीले भूमि मन्त्रालय पाउने सम्भावना छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने पक्का भएको नेताहरूले बताएका छन् । लामिछानेका अलावा डीपी अर्याल श्रम मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले लोकान्तरलाई जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने इच्छा देखाएको दाबी नेताहरूले गरेका छन् । सरकारमा सहभागी भएमा उसले २ मन्त्रालय पाउनेछ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुनुअघि मधेश सरकारको निरन्तरताको प्रतिबद्धता खोजेको छ । मधेशमा जसपाको सरकार निरन्तर रहने प्रतिबद्धता पाए संघीय सरकारमा सहभागी हुने उसको तयारी छ ।

पुरानो गठबन्धन तोडेर प्रचण्डले सोमवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । पहिलो चरणमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org