ताजा समाचार

बहराइनसँग नेपालको लगातार दोस्रो हार

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोली बहराइनसँग लगातार दोस्रो खलमा पराजित भएको छ।

फिफा विश्वकप र एएफसी एसिया कप छनोटको दोस्रो चरण अन्तर्गत भएको दोस्रो खेलमा नेपाल बहराइनसँग ३-० ले पराजित भयो।

मंगलबार भएको समूह ‘एच’ अन्तर्गत बहराइन विरुद्धको अवे खेलमा नेपाल पूर्ण रुपमा दबाबमा रहेको थियो। रिफास्थित नेशनल स्टेडियममा  पहिलो हाफमै खान पुगको ३ गोल नेपाललाई पराजित हुन पर्‍याप्त बन्यो। छनोट समूहमा नेपालको यो लगातार चौंथो हार हो। यसअघि घरेलु मैदानमा हुने खेल पनि नेपालले बहराइनकै मैदानमा खेलेको थियो। जुन खेलमा नेपाल ५-० ले पराजित भएको थियो।

समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहीन छ। लगातार चौथो हारसँगै समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ।

समूहमा यसअघि नेपाल युएईसँग उसकै मैदानमा गत नोभेम्बरमा ४-० ले पराजित भएको थियो भने नोभेम्बरमै भएको एमन विरुद्धको खेलमा पनि नेपाल घरेलु मैदानमा २-० ले पराजित भएको थियो। अब नेपालले युएईसँग ६ जुनमा प्रतिस्पर्धा गर्दा यमनसँग ११ जुनमा समूहको अन्तिम खेल खेल्ने छ।

बहराइन विरुद्ध नेपालका युवा खेलाडीले ‘डेब्यू’को अवसर भने निरन्तर पाए। डिफेन्डर विशाल बस्नेत बहराइन भ्रमणमा डेब्यू गर्ने पाँचौं खेलाडी बने। ६ नयाँ खेलाडी लिएर बहराइन पुगेको नेपालले पहिलो खेलमा चार र दोस्रो खेलमा एक गरी पाँच खेलाडीलाई ‘डेब्यू’ को अवसर दियो।

बस्नेतले खेलको ८४औं मिनेटमा छिरिङ लामाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यू गरे। अघिल्लो खेलमा अभिषेक लिम्बुले पहिलो रोजाईँमै डेब्यु गर्दा सौभाग्य राई, समिर तामाङ र सन्जिव विष्टले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका थिए।

लगातार खराब प्रदर्शनले विश्वकप छनोटको अघिल्लो चरणको सम्भावना सकिएको नेपालको  एसियन कप छनोटको तेस्रो चरण भने खेल्न पाउने छ। समूहमा तेस्रो र चौंथो स्थानमा रहने टोलीले पनि एसियाकपको तेस्रो चरणको छनोट खेल्न पाउने भएकाले  समूहमा रहेका चार टोली मध्ये अङ्क बिहीन भएपनि एसिया कप छनोटको तेस्रो चरण भने नेपालले खेल्न पाउने छ।

मंगलबारनै  भएको खेलमा युएईले यमनलाई पराजित गर्दै दुई खेल अगावै शीर्ष दुईको यात्रा पक्का गर्‍यो। नेपाललाई दुई खेलमा हराएको बहराइन ३ जित र १ हरासहित ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ४ खेलबाट ३ अंकसहित यमन तेस्रो स्थानमा छ।

बहराइन विरुद्धको दोस्रो खेलमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अघिल्लो खेलमा टिममा रहेका चार खेलाडी परिवर्तन गरेका थिए। अघिल्लो खेल खेलेका अन्जन विष्ट, मनिष डाँगी, सुमित श्रेष्ठ र हिसुब थपलियाको स्थानमा उनले भरत खवास, जिलेस्पी जंग कार्की, सन्जिव विष्ट र सौभाग्य राई खेलाए।

तर पहिलो हाफमा नेपाल लगातार गोल खान पुगेको थियो। खेलको सातौं मिनेटमा सायद महदी बाकेरले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए। कप्तान अब्दुल्लाह युसुफ हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फल गरेपछि रेफ्रीले बहराइनलाई पेनाल्टी दिएका थिए।

पहिलो हाफमै ३-० को अग्रता बनाउने क्रममा बहराइनले ३६औं मिनेटमा कमिल अल-अस्वादले गोलमार्फत फराकिलो अग्रता लियो। काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली डिफेण्डरहरुलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानमा सहज गोल गरे। दोस्रो हाफमा समालिएको नेपालले १ गोल फर्काएपनि अफसाइड घोषित भयो। यद्यपि नेपालमाथि बहराइनले निरन्तर दबाब भने बनाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org