ताजा समाचार

माओवादीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकप (माओवादी) केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलको सांसदको दोहोरोमा बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउँदै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।

भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने निर्णय सभामुखले सुनाएपछि माओवादी सांसदले बैठकमा विरोध गरेका हुन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए। उनले सो शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने बताए।

सभामुखले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरुलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org