ताजा समाचार

नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित

काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए) ले राष्ट्र सङ्घका एजेन्सी, गैरसरकारी संस्था (एनजिओ) र नाइजेरिया रेड क्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरूको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ । लामो द्वन्द्व सँगै बाढीका कारण पटक-पटक विस्थापित भएका उनीहरूलाई यथाशिग्र सहयोग चाहिएको ओसिएचएले जनाएको छ ।

विपद्को समयमा लैङ्गिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालिकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।ओसिएइचएका अनुसार सेप्टेम्बर-९ मा अलाउ बाँध क्षतिग्रस्त हुँदा तीन लाख मानिसहरू विस्थापित भएका थिए । मैदुगुरीमा बाढीले अन्य महत्त्वपूर्ण पूर्वाधारसहित दुईवटा महत्त्वपूर्ण पुलहरू आंशिक रूपमा ध्वस्त भएका छन् ।

“सरकारी प्रयासको समर्थनमा, राष्ट्रसङ्घ र यसका साझेदारहरूले प्रभावित क्षेत्रमा खाना उपलब्ध गराइ रहेको कार्यालयले जनाएको छ । यसका साथै पानी, सरसफाइ र रोगको प्रकोप रोक्न पानी शुद्धीकरण “ट्याब्लेटहरू” प्रदान गरिरहेको कार्यालयले उल्लेख गरेको छ । ओसिएइचएले नाइजेरियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय समन्वयकर्ता मोहम्मद मलिक फलले नाइजेरियाको मानवीय कोषबाट छ मिलियन अमेरिकी डलरको कोष घोषणा गरेको जनाएको छ ।

कार्यालयका अनुसार पीडितहरूको जीवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ । बाढीका कारण नाइजेरियामा तीन करोड बिस लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसिएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ ।

कार्यालयका अनुसार बाढीका कारण “बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन् भने दुई लाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन् । खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बाली नालीको क्षतिले थप चिन्ता थपिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org