ताजा समाचार

गुठी विधेयक चाँडो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जति सक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे आज मन्त्रालयसँग छलफल गरेर देशभरको गुठीसम्बन्धी समस्या समाधान गर्ने गरी विधेयक ल्याउन निर्देशन दिएको हो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको बताएका थिए ।

मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको पनि जानकारी गराए ।

मन्त्री अधिकारीले भूमिहीनहरूको समस्या समाधन गर्नका लागि राष्ट्रिय भूमि आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने भन्दै भएका कानुनका अप्ठ्यारा फुकाउनु आवश्यक रहेको औँल्याए । उनले पुस महिनाभित्र सबै जिल्लामा आयोग बनाउने काम सकिने जानकारी समितिमा गराए ।

सांसदहरूले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, भूमिहीनको समस्या समाधन लगायतका विषयमा प्रश्न गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org