ताजा समाचार

निर्वाचनमा पुरानै म्यादी प्रहरीलाई अवसर दिइने

काठमाडौं । स्थानीय निर्वाचनको घोषणासँगै निर्वाचन गराउन अपुग हुने सुरक्षाकर्मीमा पहिलेको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई नै परिचालन गर्ने तयारी भएको छ । २०७० को निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई परिचालन गर्दा उनीहरु अनुभवी र इमान्दार भएकोले निर्वाचन शान्तिपूर्ण गर्न सहयोग पुग्ने एक प्रहरी नायव महानिरीक्षकले बताए ।
आगामी बैशाख ३१ गते घोषणा गरिएको स्थानीय निकायको निर्वाचनका लागि नेपाल प्रहरीबाट करिव ४८ हजार, सशस्त्र प्रहरी बलबाट करिव २५ हजार र राष्ट्रिय अनुसन्धान बिभागबाट करिव २ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । देशभरमा २१ हजारबढी निर्वाचन केन्द्र हुनेछन् । तीनका लागि करिव ५२ हजार म्यादी प्रहरी आवश्यक पर्छ ।
महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख डिआइजी मिङ्मार लामाका अनुसार म्यादी प्रहरी छनोट, तालिम गर्न समय लाग्ने भएकोले २०७० को निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई परिचालन गर्नु उचित हुने भन्दै त्यसैअनुसारको सुझाव प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयमा दिइएको छ ।
प्रहरीका निमित्त महानिरीक्षक (आइजीपी) डा दिनेशचन्द्र पोख्रेलले राजधानीमा उपलब्ध डिआइजी र प्रहरी वरिष्ठ उपरीक्षकहरुसँग सोमबार साँझ नै निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाका विषयमा छलफल गरेका छन् । यता गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरुसँग गृहका अधिकारीहरुको बैठक मंगलबार बसेको छ ।
‘हामी पहिलो प्राथमिकता बिगतको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई दिन्छौं, अपुग भएमा मात्र नयाँलाई भर्ना गर्ने तयारी छ ।’ गृहका एक अधिकारीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org