ताजा समाचार

चीनबाट उच्चस्तरका तीन टोली आउँदै

काठमाडौं । आगामी एक महिनाभित्र चीनबाट उच्चस्तरका तीन टोली नेपाल आउने भएका छन् । नयाँपत्रिकाका अनुसार चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन्। कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै तीनदिने भ्रमणमा आउन लागेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले ३ पुसमा तीनदिने नेपाल भ्रमण गरेका थिए।

तीन दिनपछि तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए। उनीपछि नेपाल आउन लागेको यो नै उच्चस्तरीय प्रतिनिधिमण्डल हो। चीनको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्यु ७ देखि ९ चैतसम्मका लागि नेपाल आउने तय भएको छ। परराष्ट्रसचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुईपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन उनी आउन लागेका हुन्।

नेपाल र चीनका परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको ११औँ बैठकका लागि उनलाई परराष्ट्र मन्त्रालयले ११ पुसमा पत्र पठाएको थियो। ८ चैतमा हुने औपचारिक बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, सांस्कृतिक विषयमा छलफल हुनेछ। नेपाल र चीनबीच भएका सबै सम्झौताको समीक्षा र भ्रमणहरूका विषयमा सो बैठकमा छलफल हुने कार्यक्रम छ। ‘बैठकमा नेपाल–चीन सम्बन्धका सबै विषयमा बृहत् छलफल हुन्छ,’ परराष्ट्रसचिव वैरागीले भने।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव वैरागीले तथा चीनको नेतृत्व सहायकमन्त्री कोङले गर्नेछन्। चिनियाँ कम्युनिस्ट पार्टीका नेता बिहीबार आउँदै चिनियाँ कम्युनिस्ट पार्टीको एसिया विभाग हेर्ने उच्च अधिकारी डोउ इन्योङ बिहीबार काठमाडौं आउने तय भएको छ। उनले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ।

स्रोतका अनुसार उनले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन्। साँझ उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले उनको सम्मानमा रात्रिभोज दिने कार्यक्रम छ। तर, उनको भ्रमणबारे औपचारिक रूपमा नेपाल र चीन दुवैले प्रतिक्रिया दिएका छैनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org