ताजा समाचार

स्थानीय निर्वाचनमा कहाँकहाँ छ सुरक्षा थ्रेट ?

काठमाडौं । सरकारले गत सोमबारको सप्तरी घटनापूर्व निर्वाचनका दृष्टिले सुरक्षा विश्लेषण गरेको थियो । जसमा सर्वाधिक जोखिमपूर्ण जिल्ला सप्तरी नै हो भनेर । घोषित स्थानीय निर्वाचनमा मधेश केन्द्रीत दलले असर गर्न सक्ने स्थान भनेर पूर्वको मोरङदेखि पश्चिमको कैलालीसम्म आँकलन गरेको थियो ।

सुरक्षाका दृष्टिले सुनसरीको दक्षिणी भागका हरिनगरदेखि भुटाहा, देवानगञ्ज, कप्तनगञ्ज, साहेवगञ्ज, पूर्व कुसाहा, घुस्कीसहित उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको लौकही, श्रीपुर, हरिपुरसमेतका क्षेत्रमा मधेशी मोर्चाले प्रभाव पार्न सक्ने विश्लेषण छ ।
सप्तरी, सिराहा, धनुषा, रौतहट जिल्लाका राजमार्गका दक्षिण क्षेत्र बढी संवेदनशील देखिएका छन् । जनआस्था साप्ताहिकका अनुसार बाराको समिरौनगढ, कचौर्वा, पिप्रागढी, बरियापुर क्षेत्र बढी प्रभावित हुने विश्लेषण छ । त्यस्तै रुपन्देहीको सिमरा, मर्चवा, फर्साटिकर, हाफार्साटिकर, हलौया, हाटिवनगाई, सक्रौनपकडी, बेतकुइया, बोगडी क्षेत्रमा पनि बढी थ्रेट हुने अनुमान छ ।
महोत्तरीको भिट्टामोडबाट दक्षिणतर्फ लागेपछि सुरक्षा समस्या हुन सक्ने अनुमान छ । त्यस्तै नवलपरासीको परासी राजमार्गबाट दक्षिणतर्फ, धनुषाको जनकपुर र त्यहाँबाट दक्षिणका केही गाउँमा मोर्चाको प्रभावले निर्वाचन बिथोल्ने खतरा रहेको विश्लेषण सुरक्षा अधिकारीहरुको रिपोर्ट पछि गृहमन्त्रालयले गरेको छ ।
सर्लाहीमा तुलनात्मक रुपमा कम प्रभाव रहेको अनुमान छ । निर्वाचनमा भाग लिन उपेन्द्र यादव नेतृत्वको संघीय फोरम बाहेकका मधेश केन्द्रीत घटकले निर्वाचन आयोगमा दल दर्ता गरेका छैनन् । तर, दल दर्ता छैन भन्दैमा जनताबीचको परीक्षणमा उत्रने कुरामा पछि हट्ने अवस्थामा पनि उनीहरु छैनन् ।
सुरक्षा स्रोतहरुका अनुसार मधेशमा मोर्चाले, पहाडका जिल्लामा जातीय हतियारधारी समूहहरुले र पश्चिम क्षेत्रमा बिप्लब माओवादीले निर्वाचन बिथोल्ने अवस्था छ । निर्वाचन बिथोल्न मोर्चाका नेताहरुले भारतबाट आफन्तदेखि नातागोतासम्म नेपाल भित्र्याउन सक्नेसमेत अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org