ताजा समाचार

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपाल जित्नै पर्ने दवाब

काठमाडौँ, ३० फागुन । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेल सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ । शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो । उक्त खेल पटकपटक वर्षाका कारण अवरुद्ध भएको थियो । आज मौसमले साथ दिएको छ र पारिलो घाम लागेको छ ।

ताजा स्थितिमा २० ओभरको खेल सकिँदा केन्याले ५५ रन बनाएको छ । नेपालले केन्याको दुई विकेट लिएको छ । केन्याका एए ओबान्डा र डिएम गोन्डारिया आउट भएका छन् ।

दुवै विकेट महबुब आलमले लिएका हुन् । उनले आज निकै कसिलो बलिङ गरेका छन् । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रन खर्चेर दुई विकेट लिएका छन् ।

यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चेका छन् । सागर पुनले पाँच ओभरमा १२ रन दिएका छन् । अहिले वसन्त रेग्मीले बलिङ गरिरहेका छन् ।

अहिले केन्याका इरफान करिम र कोलिन्स ओबुया मैदानमा छन् । करिमले २१ तथा ओबुयाले २६ रन बनाएका छन् ।

कप्तान पारस खड्काले आज पनि खेलेका छैनन् । नेपालले पहिलो खेलमा उतारेका खेलाडीलाई नै आज पनि मैदान उतारेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राख्न नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ । नौ खेलको समाप्तिसँगै नेपाल ६ अङ्कका साथ छैटाँै स्थानमा छ भने समान खेलबाट केन्याको १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org