ताजा समाचार

पहिलोपटक मतदान गर्ने युवामा चुनावी उत्साह

इलाम, ६ चैत । इलाम फाकफोकथुम गाउँपालिका–२ का सृजन शर्मा अहिले २० वर्षको हुनुभयो । अहिलेसम्म उहाँले कुनै पनि निर्वाचनमा मत खसाल्न पाउनुभएको छैन ।

उहाँ भन्नुहुन्छ – “२०७० सालको संविधानसभाको निर्वाचनमा मत खसाल्न पाइएन । अबको स्थानीयतहको चुनावमा भने मत खसाल्ने ठूलो रहर छ ।” शर्मालाई अबको चुनावमा दलभन्दा पनि व्यक्तिलाई हेरेर मत खसाल्न मन लागेको छ । उहाँ भन्नुहुन्छ – “देशमा विकास र समृद्धि आवश्यकता छ । त्यो व्यक्ति हामी आफैँले छनोट गर्नुपर्छ ।”

स्थानीय निकायमा जनप्रतिनिधि भएको खण्डमा अहिले जस्तो एकैजना व्यक्तिले सबै गाविसको काम भ्याउनुपर्ने बाध्यता नहुने उहाँ बताउनुहुन्छ । यो चुनाव नयाँ गाउँपालिका र नगरपालिकाअन्तर्गत हुन्छ भन्ने सुनेको छु । चुनावको प्रत्यक्ष अनुभव बल्ल लिन पाइने भो ।

सोयाङकी सङ्गीता सञ्जेललाई पनि कतिबेला निर्वाचनको दिन आउला भन्ने खटपटी भइरहेको छ । अहिलेसम्म चुनावमा भोट खसाल्न नपाएको बताउँदै उहाँ भन्नुहुन्छ – “पहिलो संविधानसभाको निर्वाचनमा उमेर पुगेको थिएन । यसपटक त चुनावको राम्रै अनुभव लिन पाइने भो ।” उहाँले भन्नुभयो – “अबको चुनावमा गाउँघरको समस्या बुझ्नसक्ने नेतालाई भोट हालिन्छ ।”

शर्मा र सञ्जेलमात्रै होइन् पहिलोपटक निर्वाचनमा भोट हाल्ने पर्खाइमा बसेका हजारौँ युवालाई चुनावी उत्साह जागेको छ । समयमै चुनाव भए देशमा विकास निर्माणको कामले गतिलिने र राजनीतिक स्थिरता कायम हुन्थ्यो भन्ने युवालाई लागेको छ । युवा नेताको ऊर्जा देश विकासमा खर्चने वातावरण बनाउनेमा युवावर्ग लागेका छन् ।

देशमा निर्वाचन भए रोजगारी खोज्दै युवा पलायन हुनुपर्ने दिन हराउँथ्यो कि भन्ने अधिकांश युवाको भनाइ छ । प्रायः यतिबेला सबै युवाको मनमा विदेश जानुपर्ने बाध्यताचाहिँ संविधान कार्यान्वयन नभएर हो भन्ने पाइएको छ ।

जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले गाउँ–गाउँमा सबै क्षेत्र निर्वाचन निर्धारण गरिएको बताउनुभयो ।

कार्यालयले जिल्लाका शिक्षक र सामाजिक परिचालकहरूलाई निर्वाचन शिक्षाबारे जानकारी दिएर निर्वाचन शिक्षाको प्रसारप्रचार गर्ने तयारी गरेको निर्वाचन अधिकृत काफ्ले बताउनुहुन्छ ।

आउँदो निर्वाचनका लागि इलाममा १७ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org