ताजा समाचार

नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८० रन बनायो।

१८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाकिस्तानले इमाम उलहकको सर्वाधिक सतकीय पारीको मद्धतले ४५.१ ओभरमा जित हात पार्‍यो। १४ ओभर तीन बलमा ४१ रन हुँदा महत्वपूर्ण तीन विकेट गुमाएको नेपालको पारीलाई सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए। ओपनर सुनिलले ४३ र शरदले ३८ रनको योगदान दिए।

यस्तै विनोद भन्डारीले ३१ बलमा एक छक्कासहित २३ रन जोडे। आरिफ शेखले १६ र दिपेन्द्र सिंह ऐरीले १४ रन नेपालको खातामा थपे। ओपनर कप्तान ज्ञानेन्द्र मल्ल भने मात्र दुई रनमा पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिजमा गएका सागर पुन पनि चार रनमा मैदान बाहिरिए ।

यसैबीच आजको खेलमा नेपालका सुसान भारीले राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्। विनोद आउट भएपछि मैदान प्रवेश गरेका भारी दुई रनमा गुलाम मुदस्सरको बलमा बोल्ड भएका थिए। मुदस्सरले पाँच र ओस्मा मिरले दुई विकेट लिए । जवाफमा पाकिस्तानको २३ वर्ष मुनिको टिमले ४७ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

पाकिस्तानको जितमा इमाम उल हकले सतक प्रहार गरे। उनले १ सय ४ रन बनाए भने इमरान बटले २१ तथा ह्यारिस सोहेलले १७ रन बनाए। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामीछानेले दुई दुई विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org