ताजा समाचार

खानेपानी आयोजना निर्माण

 

म्याग्दी (बाबियाचौर), २३ वैशाख । म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा एकै साथ खानेपानी आयोजना निर्माण भएको छ। जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको आयोजनाबाट एक सय भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका– ६ घारमा बिरौटा, मङ्गला– २ तल्लो हिदीमा पात्लेपानी र मालिका– ४ ओखरबोटमा खालखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको परियोजनाले जनाएको छ ।

एक करोड १६ लाख ७५ हजार १४५ रुपैयाँको लागतमा निर्माण भएको तिनवटा आयोजनाबाट एक सय १९ घरधुरीका सात सय ७३ जनसङ्ख्या लाभान्वित भएका परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसै महिना सञ्चालनमा आएका तिनवटै आयोजनामार्फत प्रभावित क्षेत्रका सबै उपभोक्ताको घरमा निजी धारा जडान भएको छ । परियोजना, जिल्ला समन्वय समिति र गाउँपालिकाको अनुदान सहयोगमा उपभोक्ताले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।

उपभोक्ताले कुल लागतको ३५ प्रतिशत श्रमदान गरेका छन् । सार्वजनिक धारा र असुरक्षित मुहानको पानी खानेपानी उपभोग गर्दै आएका सर्वसाधारणको घरमै धारा जडान भएपछि समयको बचतसँगै दैनिकी सहज भएको बिरौटा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ठाकुर बरुवालले बताउनुभयो ।

उहाँकाअनुसार पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि मिटर जडान तथा मासिक न्युनतम शुल्क निर्धारण गरिएको छ । परियोजनामार्फत म्याग्दीमा थप चारवटा खानेपानी आयोजना निर्माणाधिन छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org