ताजा समाचार

एमाले माओवादी बाझाबाझ, एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्न नदिने

काठमाडौं, १९ जेठ । नेकपा एमालेले संसद अवरुद्ध भएको स्थितिमा कुनै पनि कार्यसूची अगाडि नबढाउन सभामुख ओनसरी घर्तिसँग आग्रह गरेको छ। सभामुख घर्तिमगरले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले भरतपुरमा मतगणना सञ्चालन नभएसम्म संसद् चल्न नदिने बताए । संसद अवरुद्ध भएको स्थितिमा कसरी कार्यसूची अगाडि बढाउन मिल्छ ? भन्दै उनले प्रतिप्रश्न गरे ।

उनले त्यस सम्बन्धमा शिर्ष नेताहरुबीच छलफल गरी छिटो टुंगोमा पुग्न पनि सभामुखलाई सुझाव दिइएको पनि बताए । एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभए संसदमा कुनै पनि प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारेको छ ।

यता, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने काम सभामुखको भएको टिप्पणी गरेको छ । सभामुखको स्वविवेकीय अधिकार भएकाले प्रधानमन्त्री निर्वाचन प्रक्रिया रोक्न नमिल्ने सुझाव दिइएको नेता रामनारायण बिडारीले जानकारी दिए ।

माओवादी केन्द्रले राष्ट्रपतिले प्रधानमन्त्री निर्वाचन गराउन दिएको आदेश अवज्ञा गर्ने अधिकार सभामुख र प्रमुख प्रतिपक्ष एमाले दुवैलाई नरहेको तर्क समेत गरेको छ । राष्ट्रपति विद्या भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न विहिबार नै संसदलाई आह्वान गरेकी छन् । तर संसद बैठक अवरुद्ध भएकाले सो प्रक्रिया अघि बढाउन सभामुखलाई अप्ठयारो परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org