ताजा समाचार

१०० स्थान जित्ने दावी गरेको माओवादीको सपना यसकारण पूरा भएन

काठमाडौं, २३ असार । पहिलो चरण निर्वाचनमा ४६ स्थानीय तह जितेर तेस्रो भएको माओवादीले दोस्रो चरणमा एक सयभन्दा बढी स्थान जित्ने दावी गरेको थियो । दुवै निर्वाचनपछि १५० तहमा जित्ने उसको अपेक्षा थियो । तर, मतपरिणामले उनको दावी र अपेक्षा असत्य सावित गरिदिएको छ । एक सय स्थान जित्ने दावी गर्ने माओवादी त्यसको एकतिहाइभन्दा केही बढी मात्र अर्थात ३८ तहमा सीमित भएको नयाँ पत्रिकामा खबर छ ।

अपेक्षा र दावी गरेभन्दा निकै कम तह जितेपछि माओवादीले यो निर्वाचन परिणाम निराशाजनक बताएको छ । ६ वटा प्रदेशको ५८८ वटा स्थानीय तहमा निर्वाचन सकिँदा माओवादीले जम्मा ८१ तह मात्र जितेको छ । अझ सहरी क्षेत्रमा उसको उपस्थिति निकै कमजोर देखिएको छ । उसले जितेका ८१ मध्ये अधिकांश गाउँपालिका छन् भने नगरपालिका न्युन छन् ।

अधिकांश ठाउँमा किन हार्यो माओवादी ?
माओवादी नेता मणि थापाको बुझाइमा चुनावी राजनीतिमा माओवादी केटाकेटी देखियो । उनले एकीकृत योजना बनाएर जान नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको बताए । एमालेले सत्तासाझेदारीविरुद्ध प्रचार गर्दासमेत त्यस्तो आरोप चिर्न नसक्दा माओवादीले क्षति व्यहोर्नुपरेको निष्कर्ष माओवादीले निकालेको थापाले जानकारी दिए ।

‘अरू पार्टीका नेताहरू आफैँ मैदानमा उत्रिए । पार्टी प्रतिष्ठाका रूपमा चुनाव लडे,’ थापाले भने, ‘हाम्रा कार्यकर्ताले मात्र चुनाव लडे । नेताले चुनाव लडेनन्, उनीहरूलाई चुनाव लागेन । हाम्रा नेतामा चुनावको जोश, जाँगर र उत्साह देखिएन ।’ न्यूनतम स्रोत–साधन जुटाउन नसक्दा पनि कमजोर परिणाम आएको माओवादीको निष्कर्ष छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org