ताजा समाचार

यस्तो छ तेजाब प्रहारबाट प्रभावित युवतीहरुको दोस्रो जुनी

काठमाडौं, २६ कात्तिक । सुन्दर अनुसार कुरुप बनाउने अस्त्र भनेको तेजाब हो । पछिल्लो समय तेजाब आक्रमण गर्दै सुन्दर अनुहारलाई कुरुप बनाउने घटनाहरु घटिरहेका छन् । सुन्दर अनुहार वा शरीरका अन्य अंग क्षतविक्षत हुन्छन्, दागै–दागले भरिन्छन्, त्यो पनि कुनै रोगव्याधी वा दुर्घटनाबाट होइन, तेजाब प्रहारबाट ।

कति अन्धकारमय र कष्टकर होला जीवन ? समाजसँग साक्षात्कार गर्न कति मुस्किल पर्ला ? तर, जो यो कारुणिकताको सिकार भए, उनीहरुको भोगाइ यो सोचाइभन्दा ठ्याक्कै उल्टो हुँदो रहेछ । किनभने, सुन्दरता आवरणमा अडेको हुन्न, मनमा हुन्छ ।

हाम्रै समाजमा त्यस्ता महिलाहरु छन्, जो कलकलाउँदो उमेरमा तेजाब आक्रमणमा परे तर हरेस खाएनन्, हीनताबोधको दलदलमा फसेनन् । तेजाबको रापबाट उम्किए । शीतलतातिर लम्किए । र, अहिले आत्मिक रुपमा खुसीको शिखर चढ्दैछन् । सफलताका लागि संघर्ष गर्दैछन् । सुन्दा नमिठो लाग्ला तर सत्य हो, तेजाबले उनीहरुको जीवन थप सार्थक बनाईरहेको छ । अझ यसो भनौँ, त्यो शोकलाई उनीहरुले शक्तिमा बदले । सुनौ केही साहसी चेलीहरुको प्रेरणादायी कथा:

सीमाको उत्साह र उमंग १७ वसन्तमै उडाईदियोः

सीमा बस्नेत भर्खर १७ वसन्त पार गर्दै थिइन् । जताजतै उत्साह र उमंग मात्रै । सेन्टअप परीक्षा सकिसकेको थियो, एसएलसीको तयारी हुँदै थियो, जोडतोडसँग । हतार–हतार ट्युसन पढ्न जाँदै थिइन्, वसन्तपुर । दुई साथी सँगै थिए । एक्कासि कसैले उनको मुखमा पानीजस्तै तरल पदार्थ फ्याँकेर सुइँकुच्चा ठोक्यो । उनलाई लागेछ, बिहान–बिहानै लोला खाइयो । किनभने, होलीको समय थियो । त्यसैले सुरुमा आत्तिनन् । लोला त चिसो हुनुपर्ने तर त्यसले बिस्तारै पोल्न थाल्यो । अनुहारमा हल्का–हल्का धूवाँ उडेजस्तो भयो ।

दगुर्दै नजिकैको घरमा पुगेर ऐना हेरिन्, खास केही भएको थिएन । तर, भित्रभित्र आगो सल्किएझैँ पोल्न थाल्यो । अनि, बल्ल उनले भेउ पाइन्, त्यो लोला थिएन, तेजाब थियो । जसले उनको अनुहारको छाला मात्र होइन, सुन्दरता पनि जलाइरहेको थियो । त्यो आर्तनादको पल सम्झँदै सीमा भन्छिन्, “अनुहार भतभत पोलिरहेको थियो तर मलाई जसरी पनि अनुहार बचाउनुपर्छ भन्ने लाग्यो । अनि, कुद्दै नजिकैको वीर अस्पताल पुगेँ ।”

त्यो कालो दिन थियो, १० माघ ०७२ । जुन दिन सीमासँगै उनकी साथी संगीता मगर पनि तेजाबको सिकार भइन् । अहिले पनि अस्पताल बसाइको सुरुआती क्षणहरू सम्झँदा सीमाको मुटु काँप्छ, आँखामा अथाह आवेग झल्कन्छ । र, एउटै वाक्य मुखबाट खस्छ, ‘त्यस्तो त कसैको जीवनमा नहोस् ।’ उनी किन यसो भनिरहेकी छन् भने आफैँले त्यतिविघ्न रापको सामना गरिन् तर कति पोल्थ्यो, शब्दमा व्यक्त गर्न सक्दिनन् । केवल आगोको मुस्लोमा परेझैँ हुन्थ्यो । तर, त्यो पोलाइ त सामान्य लाग्यो, जब अस्पतालमा बिताएको पहिलो रात उनले आफ्नो अनुहार देखिन् । आखिर आफ्नो अनुहारसँग आफैँ तर्सिनु जत्तिको भयावह अरू के होला र ?

पहिलो दिन जति पनि अस्पतालमा भेट्न आए, सबैले ‘विचरा, ला अनुहार त गएछ’ भन्थे । सीमा छक्क पर्थिन् । बिहान घरमा ऐना हेर्दा केही भएको थिएन । त्यसैले कौतूहलतापूर्वक राती हजुरआमा निदाएको मौका पारेर मोबाइलमा अनुहार हेरिन्, उनको होसहवास उड्यो । सुन्दरता सबै अलप भएछ, सिर्फ घाउ थियो, दाग थियो, टाटा र खाटा थिए । “त्यो रातभर निदाउन सकिनँ, रोएको रोयै,” हाल आफूजस्तै तेजाबपीडित युवतीलाई भेट्न दिल्ली पुगेकी सीमाले सुनाइन्, “त्यसपछि कहिल्यै आँसु झरेन । रोएर केही हुँदैन भन्ने बोध भयो ।”

अस्पताल बसाइकै क्रममा एक जना दाइले नोबेल पुरस्कार विजेता मलाला युसुफ्जईको आई एम मलाला पुस्तक उपहार दिए । पाकिस्तानमा तालिवान आक्रमणको सिकार भएकी मलालाको जीवनकथा पढेपछि सीमाको जीवन हेर्ने दृष्टिकोण नै बदलियो । भन्छिन्, “हरपल आतंककारीको निशानामा हुँदा पनि मलाला त्यति सशक्त र प्रेरणादायी जीवन बिताइरहेकी छन् । मेरो त अनुहार मात्र बिग्रिएको हो । पूर्ण स्वतन्त्र र सबल छु । किन दुःखी हुने ?” त्यसमाथि यसपटक दिल्लीमा अनुहारसँगै पूरै शरीर क्षतविक्षत हुँदा पनि ओठमा मुस्कान लिएर बाँचेकाहरूसँग सानिध्यता पाएपछि सीमा बिछट्टै खुसी भएकी छन् ।

विन्दवासिनीको गल्ती प्रेम प्रस्ताव अस्वीकार गर्नुः

विन्दवासिनी कंसाकार, २३, को गल्ती यत्ति हो, उनले प्रेम प्रस्ताव स्वीकार गरिनन् । परिणाम, तेजाबले उनको अनुहार जल्यो र शरीरका अन्य केही भाग । तेजाब हान्ने अरू कोही नभएर उनकै फुपूका छोराका साथी दिलीप राज केशरी थिए, जसले उनलाई पटक–पटक प्रेम प्रस्ताव राखेका थिए । विन्दवासिनीले ‘उच्च शिक्षा अध्ययन गर्दै गरेको र प्रेम सम्बन्धबारे कुनै चासो नभएको’ जवाफ फर्काइन् । त्यसकै बदलामा दिलीपले उनलाई तेजाब प्रहार गरेका थिए, ९ वैशाख ०६९ मा ।

हेटौँडा उपमहानगरपालिका–२, पीपलबोटस्थित आफ्नो भाँडा पसलमा व्यस्त थिइन्, विन्दवासिनी । दिलीप पसलमा आए, वास्ता गरिनन् । उनी केही बोल्न खोजेपछि ‘यहाँबाट जा’ भनिन् किनभने उनलाई लामो समयदेखि दिलीपले मानसिक यातना दिइरहेका थिए । तर, दिलीपले त्यस दिन केही मिठो बोल्न खोजे, ‘हजुरआमालाई मह ल्याइदिएको छु’ भन्दै बट्टा दिन थाले । विन्दवासिनीको हातमा पर्न नपाउँदै आफैँले बट्टाको बिर्को खोले र उनको अनुहारमा फँयाकेर सुइकुच्चा ठोके । अनि, त्यही मह भन्ठानेको तेजाबले त्यही पलबाट उनको अनुहारको सुन्दरता हरण गर्‍यो । नाकभन्दा माथिको भाग पूरै जल्यो । तेजाबचाहिँ शरीरभरि चुहियो, दागै–दाग छ अझै । विन्दवासिनीले मलिन स्वरमा भनिन्, “यतिधेरै पोल्यो कि त्यो पल अरू के भयो, सम्झनै सक्दिनँ ।”

घटना भएकै दिन उनी जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना भइन् । औषधि र सर्जरीले यत्ति लठ्ठिएकी थिइन् कि दुई–तीन महिना केही सोच्नै सकिनन् । केही दिन दुईवटै आँखा बन्द थिए । चार दिनपछि बल्ल खुले तर पूरै धमिलो । “आँखा खुलेपछि बुबाले मलाई देख्यौ भन्नुभयो । अँ, देखेँ भनेँ,” उनी सम्झिन्छिन्, “तर, बुबाको अनुहार हैन, छायाजस्तो मात्र देखेकी थिएँ ।” घटना भएको पाँच वर्ष बित्यो, त्यतिविघ्न धमिलो त देख्दिनन् । तर, पूरै सफा पनि भएको छैन । उपचार जारी छ । बुबालाई भनेर ऐना झिक्न लगाइन् ।

कति पीडादायी पल थियो होला त्यो ? तीन महिनाको अस्पताल बसाइपछि घर फर्कदा दंग थिइन् तर आफन्त भेट्न आउँदा झर्को लाग्थ्यो । तेजाबको पीडा त छँदै थियो, ‘बिचरा’ शब्दले त्यसभन्दा बढी पोल्थ्यो । तर, भनेजति रुन पनि मिल्दैन थियो, आँखामा सबभन्दा बढी असर परेकाले । घरबाट बाहिर निस्क्न मन लाग्थ्यो तर धूलो, धूवाँ र बत्तीले पोल्थ्यो । थोरै यताउता भए घाउ चर्किहाल्थ्यो । त्यतिबेला १२ कक्षा पढ्दै थिइन् । दुई वर्ष पढाइ रोकियो । केही गर्ने अवस्था नै थिएन तर बिस्तारै उनमा आत्मविश्वास भरिँदै गयो । जे भयो, त्यसलाई स्वीकार्दै अगाडि बढ्नुको विकल्प देखिनन् ।

बुबा, आमा, दाजुभाइकै साथ र मायाले सहज महसुस हुन थाल्यो । त्यसैले त अनुहारमा ‘ब्यान्डेज’ बाँधेरै नियमित कलेज धाउन थालिन् । अहिले हेटौँडाकै नवोदित नेपाल कलेजमा बीबीएस तेस्रो वर्ष पढ्दै छिन् । पसलमा बसेर सामान बेच्न सक्ने भएकी छन् । अहिले पनि तीन–तीन महिनामा उपचार गर्न भारत जानुपर्छ । धूलो र धूवाँबाट जोगाउनुपर्छ । छिनछिनमा हात धुनुपर्छ । फोहोर हातले अनुहारमा छोए ‘एलर्जी’ हुन्छ । चस्मा नलगाई हिँड्ने अवस्था छैन । उनी दुःखी हुँदै सुनाउँछिन्, “तर, अपराधी पक्राउ नपरेकाले थप पीडा हुन्छ ।

कहिलेकाहीँ त खपिनसक्नु रिस उठ्छ, आफ्नै अनुहार ऐनामा हेर्दा ।” अपराधीलाई सजाय दिलाउनु त छँदैछ, बाँकी कुनै पश्चात्ताप र मानसिक पीडा छैन । भ्याएसम्म साथीहरूसँग घुम्न जान्छिन्, रमाउँछिन् । भनुँ न, पहिलेजस्तै सामान्य र सन्तुष्टितिर फर्कंदै छन् दिनहरू । निकै आत्मविश्वासी शैलीमा उनले भनिन्, “तेजाब प्रहारपश्चात् अझ सशक्त भएकी छु । मैले लड्नुपर्छ, लड्न सिकेकी छु । जो लड्न डराउँदैन, उसले कहिल्यै हरेस खाँदैन ।” उनको एउटै उत्कट चाहना छ, अपराधीलाई कारबाही भएको हेर्ने ।

गोरी रिंकु मेहताः

रिंकु मेहता गोरी थिइन् । १० कक्षामा पढ्दै गरेकी । बोलीवचन पनि उस्तै मीठो । यही कारण उनलाई गौतमपुर–३, सुनसरीका ओमप्रकाश मेहताले औधी मन पराए । शारीरिक विकाससँगै विपरीत लिंगीप्रति आकर्षित हुने उमेर थियो । सामान्य चिनजान भयो उनीहरूबीच । कहिलेकाहीँ ओमप्रकाश साथीभाइसँगै विद्यालयको प्रांगणबाहिर चटपटे खान पुग्थे । सामान्य किसिमका उपहार ल्याइदिन्थे, रिंकुले स्वीकार्थिन् पनि । तर, यो बोलचाल र हाँसखेललाई ओमप्रकाशले रिंकुसँग प्रेम झाँगिएको ठानेछन् ।

६ महिनापछि रिंकुलाई प्रेम प्रस्ताव राखे, तत्कालै विवाह गर्न कर गरे । रिंकुको जवाफ थियो, ‘अहिले त्यो सम्भव छैन । मैले तपार्इंलाईं साथी मात्र सम्झेकी छु ।’ मनमा जे थियो, रिंकुले त्यही भनिदिइन् । उनको दोष थिएन । न धोका नै दिएकी थिइन् । दुईपक्षीय प्रेम थिएन । तर, ओमप्रकाश रिसले आगो भए । ‘तँ मेरी हुन्नस् भने अरूको पनि हुन्न दिन्नँ’ भन्दै उनी रिस बोकेर बसे । नभन्दै १ फागुन ०७० मा उनले रिंकुको शरीरमा तेजाब खन्याएर बदला लिने प्रयास गरे । यतिबेला रिंकु हरिनगरा उच्च माविमा सेन्टअप परीक्षा दिन जाँदै थिइन् । आफूलाई मन पराएको भन्ने मान्छेबाट यस्तो क्रूर व्यवहारको अपेक्षा कसले गर्ला र ? रिंकुका लागि पनि त्यो अनपेक्षित र आततायी थियो । ती पलहरू सम्झँदा अहिले पनि उनमा चरम आवेग पैदा हुन्छ ।

आक्रमणमा पर्नासाथ उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगियो । एक महिनाको उपचारपछि घर फर्किइन्, जीउभरि तेजाबले खाएका घाउका डोबहरू बोकेर । आफ्नै शरीर हेर्दा आफैँलाई घृणा लाग्थ्यो । नलागोस् पनि किन † त्यति गोरो र आकर्षक शरीरभरि दागैदाग जो थिए । तर, दिनहरूसँगै सुन्दरतालाई हेर्ने उनको यो दृष्टिकोण पनि बदलियो । तेजाबले शरीर जले पनि मन पहिलेझैँ थियो, भावना पहिलेझैँ । रिंकु भन्छिन्, “त्यसैले बाहिरी सुन्दरता गुम्यो भनेर निराश हुन छोडेँ । बरू थप साहस जुटाएर अघि बढेँ ।” यतिबेला १२ कक्षामा अध्ययनरत छिन् । शिक्षक बन्ने धोको छ । दैनिकी बिस्तारै सामान्य र सुखमय भइरहेको छ । परिवारको साथ पाएकी छन् ।

चार वर्षअघि श्रीमानले नै टाउकामै तेजाबः

ज्ञानु चौधरी आफ्नै श्रीमानको तेजाब आक्रमणमा परिन् । २३ वर्षीया ज्ञानु अनुहार छोपेर जिउन बाध्य थिइन्, । तर, अहिले अनुहारबाट घुम्टो हटाएकी छन् । गाउँले र साथीभाइको मायाले उनलाई यति आत्मविश्वासी बनाइदियो कि घुम्टोभित्र कैद हुनुपरेन । साँच्चै भन्दा २१ माघ ०७० को त्यो घटनापछि इटहरी–१६, पकलीकी ज्ञानुको जीवनले नयाँ मोड लियो । पति ओरेन्ज हुसैनलाई सदाका लागि छोडिदिइन् र माइतीमै आफ्नो दैनिकी चलाउन सुरु गरिन् । मजदुरी गर्ने ज्ञानु र घरमै टायल लगाउने हुसैनबीच घटना हुनु सात वर्षअघि इटहरीमा भेट भएको थियो ।

छोटो समयमै झांगिएको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे । एउटा छोरा जन्मियो । सुखदुःख चलिरहेको थियो । तर, बिस्तारै दाम्पत्य जीवनमा खटपट आयो । कारण थियो, हुसैनको अन्य महिलासँगको सम्बन्ध । ज्ञानुले सम्बन्धलाई लगाम लगाउने प्रयास नगरेकी होइनन् । सम्झाइ–बुझाइ गरिन् । हुसैनले टेरपुच्छर लगाएनन् । त्यही कारण उनी छोरासहित माइतीमै बस्न थालिन् । सरस्वती पूजाको दिन इटहरी आएको मौका छोपेर हुसैनले हङकङ बजारमा ज्ञानुलाई भेटे । मायाले फकाएर घर लैजालान् भन्ने आशा थियो उनको तर बीच बजारमै तथानाम गाली मात्र गरेनन्, गोजीबाट बोतलमा ल्याएको तेजाब पछाडिबाट खन्याइदिए । अनुहार र कानको छेउबाटै पोखिएको तेजाबले उनको शरीर जल्यो ।

हुसैनलाई प्रहरीले तत्कालै प्रक्राउ गर्‍यो । ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलायो । झन्डै एक वर्षको कारावासपछि हुसैन पुनरावेदन अदालतको फैसलाबाट छुटे । तेजाब आक्रमणको केही समय ज्ञानुलाई फेरि आएर त्यस्तै केही गर्लान् कि भन्ने त्रास भइरहन्थ्यो । तर, अहिले आत्मविश्वास बढेको छ । उनी भन्छिन्, “आयो भने त्यसैलाई खन्याइदिन्छु । रत्तिभर डराउन्नँ ।” जबकि, तेजाब आक्रमणपछि उनलाई जीवन नै सकियो होला भन्ने लागेको रहेछ । एक वर्षसम्म त घरमै बन्द हुनुपर्‍यो, घाउले गर्दा । त्यसपछि इँटाभट्टामा काम पाइन् । छोरालाई पढाइरहेकी छन् । आफ्नै जीवन आफूलाई झिँजो लाग्न छोडेको छ ।

अनौठो प्रेम:

जामुनगाछी, हटियामा पकौडा र ढुंग्री बिक्री गर्दागर्दै भेटिइन्, विमला दास । श्रीमान् आशिष पनि उनलाई सघाउन छेउमै बसेका थिए । आशिष रिक्सा चलाउँछन् । फुर्सद हुँदा विमलालाई सघाउँछन् । आशिषको देब्रे आँखा पूर्ण क्षति भएको छ, ‘आइबल’ नै छैन । तर, यो कुनै दुर्घटनामा गुमेको होइन । पत्नी विमलाले तेजाब हाल्दिएपछि आँखाको दाना गुमेको हो, उनको । सुन्दा अचम्म लाग्न सक्छ तर सत्य यही हो । अझ आश्चर्यको कुरा त, तेजाब आक्रमणपछि उनीहरूको प्रेम अझ झाँगिएको छ ।

विराटनगर–६ डेरा गरी बस्ने विमला र आशिषका बीच झगडा भइरहन्थ्यो । आशिष सधैँ रक्सी पिएर आउँथे । दिनभरि रिक्सा चलाएर कमाएको पैसा रक्सीमै सकिन्थ्यो । हुँदाहुँदा विमलाले हटियामा खाजा बिक्री गरेर कमाएको पैसासमेत चोर्न थाले । आजित भइन् विमला । आशिषलाई छाडेर अर्कैसँग घरजम गरौँ कि भन्ने सोच पनि नपलाएको होइन तर दुई छोरीको बिजोग हुने डरले त्यो सोच त्यत्तिकै तुहियो । आफन्तलाई हात जोड्दै आशिषलाई सम्झाउन अनुरोध गरिन् तर उनमा कुनै बदलाव आएन । रक्सीको लतमा डुब्दै गए ।

हटियामा आउनेजाने गर्दा बीच बाटोमा पर्ने सुन पसलेहरूसँग चिनजान थियो उनको । एक दिन खुट्टाको घाउ निको नभएको र त्यसमा हाल्न तेजाब चाहिएको बताएपछि पसलेले सिसीमा तेजाब हालिदिए । चुपचाप सिसी डेरामा लिएर आइन् । बेलुका आशिष उसै गरी मातेर होहल्ला गर्दै आए । उनले खाना खान दिइन् र ओछ्यानमा सुताइन् । ‘तिम्रो आँखा त रातो–रातो भएको रैछ, म औषधि हाल्दिन्छु’ भनिन् । आशिषले मानेनन् । उनले जिद्दी गर्दै आँखा सन्चो हुन्छ भन्दै सिसीको तेजाब निकालिन् र देब्रे आँखामा तुक्र्यादिइन् । अर्कोमा हाल्ने प्रयास गर्दागर्दै आँखा पोलेर आशिष चिच्याउँदै भागे ।

आशिष पोल्दै गरेको आँखा लिएर बाबुको घर पुगे । अस्पताल पुगेपछि डाक्टरले आँखा पूर्ण रूपमा जलेको बताए । त्यसपछि उनले पत्नीविरुद्ध जिल्ला प्रहरी कार्यालय, मोरङमा उजुरी दिए । प्रहरी पक्रन आएको थाहा पाएपछि विमला छोरी छाडेर धरानतिर भागिन् । झन्डै एक महिनापछि विमलाले जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरिन् । सँगै मिलेर बस्ने कागज भयो । यसबीचमा आशिषलाई आफूले विमलामाथि अन्याय गरेकाले खासमा दोषी मै हुँ भन्ने आभास भएछ । विमलालाई पनि श्रीमान्लाई त्यसरी आँखै बिग्रने गरी तेजाब हाल्नु हुन्थेन भनेर आत्मग्लानि भयो । त्यसैले त एक महिनापछि प्रहरी कार्यालयमा भेट हुँदा दुवैबीच आक्रोश थिएन । बरू, एकअर्कालाई माया दर्शाए । विमलाले मायालु पारामा सोधिन्, ‘छोरीहरूलाई सञ्चै छ ?’ आशिषले पनि सोधे, ‘किन यतिका दिन हराएकी ? घर आउनु पर्दैन ।’

एक वर्षपछि विमलाले छोरा पाइन् । परिवारमा नयाँ खुसी छायो । अहिले दुवै कमाउँछन् । पर्दा एकअर्कालाई सघाउँछन् । अचेल त झगडा पनि पर्दैन । विमलाले हाँस्दै सुनाइन्, “आगो पनि नठोसी बल्दैन भन्छन् । हाम्रो पनि त्यस्तै भयो । अहिले असाध्यै खुसी छौँ ।” विमलाको कुरा सकिन नपाउँदा आशिष मुस्कुराए, “उनी बोल्न थालेपछि म चुप लाग्छु, बरू एकातिर निस्कन्छु । मलाई गाली गर्दा मुख फर्काउँदिनँ । आफैँले सहँदा के फरक पर्छ, आखिर बूढी त मेरै हो ।” नेपाल राष्ट्रिय साप्ताहिकको सहयोगमा

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org