ताजा समाचार

दोस्रो अभ्यास खेलमा नेपालद्धारा केन्या ६ विकेटले पराजित

काठमाडौं, १७ मंसिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेलका लागि युएईमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा केन्यासँग ६ विकेटको विजयी भएको छ । शुक्रबार भएको पहिलो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा भने केन्यासँग ६ विकेटले विजयी भएको हो ।

पाँच जना सिनियर खेलाडीबिना मैदानमा उत्रिएको नेपालले केन्याले दिएको १११ रनको लक्ष्य १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी र सोमपाल कामीलाई आजको खेलमा आराम दिइएको थियो ।

नेपालले सुरुवाती तीन विकेट सस्तैमा गुमाएको थियो । इनिङको पहिलो बलमै नेपालका ओपनर दिलिप नाथ बोल्ड भएका थिए । दोस्रो ओभरमा अर्का ओपनर सागर पुन पनि व्यक्तिगत १ रनमा पेविलियन फर्किए । अनिल साह १३ रन बनाएर आउट हुँदा नेपालले २९ रन बनाएको थियो ।

तर चौथो विकेटका लागि कप्तान शरद भेषावकर र युवा स्टार दिपेन्द्र सिंह ऐरीले ७६ रनको साझेदारी गर्दै स्कोर १०५ पुर्‍याए । जितका लागि ६ रन आवश्यक हुँदा व्यक्तिगत ४६ रन जोडेका दिपेन्द्र १९औं ओभरमा रनआउट हुन पुगे । त्यसपछि आएका आरिफ र शरदले इनिङको अन्त्य गरे । शरद ३१ र आरिफ ४ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर ११० रनको झिनो योगफल बनाएको थियो । बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिँदा आरिफ शेखले २ तथा करण केसी, सागर पुन र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org