ताजा समाचार

थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेका चारै दललाई सकस, निर्वाचन आयोगले दियो तीन महिने अल्टिमेटम

काठमाडौं २४, जेष्ठ । संघीय संसदमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका कुनै पनि दलले आफ्नो केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराएका छैनन् ।

निर्वाचन आयोगले नेकपा दर्तासँगै सबै दललाई राजनीतिक दल सम्बन्धी कानुन बमोजिम ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७४ को दफा १५ को उपदफा ४ ले राजनीतिक दलको प्रत्येक तहमा कम्तिमा एक तिहाई महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । सोही ऐन बमोजिम आयोगमा दर्ता भएका कुनै पनि दलले एक तिहाई महिलाको प्रतिनिधित्व गराएका छैनन् ।

नेकपाको विधान र कार्यविधि पारित गर्ने तयारी समेत रहेको छ । निर्वाचन आयोगले तीन महिना भित्र महिलाको सहभागीता ३३ प्रतिशत पु¥याउन समेत निर्देशन दिएपछि नेकपा विधान संशोधनमा जुटेको छ । आयोगले दिएको निर्देशनलाई ध्यान दिँदै विधानमा सामान्य परिमार्जन गर्न लागिएको नेकपाका एक नेताले जानकारी दिए । केन्दीय कमिटीको पहिलो बैठकले पार्टीको विधान र राजनीतिक प्रतिवेदन सम्पादनसहित प्रकाशनको जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।

विधानलाई परिभाषित गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको नियमावली मस्यौदा समितिले आफ्नो प्रस्ताव तयार पारेको छ । विधानमा उल्लेखित कतिपय विषय अपूरो भएको र कतिपय थप्नुपर्ने भएकाले नेताहरुबीच थप छलफल गर्ने बताइएको छ ।

कुन दलमा कति महिला छन् ?

मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जनामात्र महिला छन् ।

यो भनेको भनेको १७ दशमलब ६८ प्रतिशत हो ।

दोस्रो ठूलो दल नेपाली कांग्रेसको हालत पनि उस्तै छ । कांग्रेसको ७५ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या १६ मात्र छ । भनेको २१ दशमलब ३३ प्रतिशत हो । कांग्रेसको महाधिवेशन ३ वर्षपछिमात्र हुने भनेर सभापति शेरवहादुर देउवाले भनिसकेको अवस्थामा ३३ प्रतिशत महिला सहभागिता गराउन मनोनित गर्नुपर्ने हुन्छ ।

कांग्रेसको बिधान अनुसार केन्द्रीय कार्य समितिमा पदेन सदस्य बाहेक बढीमा ८५ जनामात्र रहने व्यवस्था छ । यदि महाधिवेशनअघि नै एक तिहाई महिला सहभागिता गराउनुपरेमा अब बाँकी रहेको १० सदस्यमा सबै महिला मनोनित गरे पनि ३३ प्रतिशत पुग्दैन ।

संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्य समिति नै भद्रगोल छ । ६ वटा पार्टी मिलेर एकीकरण हुँदा पेश गरिएको ८१५ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या १२९ मात्र छ । यो भनेको १५ दशमलब ८२ प्रतिशतमात्र हो ।

तीमध्ये पनि केन्द्रीय कोषाध्यक्ष अनिता यादव लगायतका कतिपय महिला नेताले पार्टी छाडिसकेका छन् । यादव तत्कालिन एमालेमा प्रवेश गरेर प्रदेशसभा सदस्य भइसकेकी छन् ।

संसदको चौथो ठूलो दल संघीय समाजवादी फोरम महिला सहभागिता गराउन अन्य तीन दलभन्दा थप अनुदार देखिएको छ ।

फोरमको २६८ सदस्यीय केन्द्रीय कार्य समितिमा महिलाको संख्या २८ छ । जुन १० दशमलब ४४ प्रतिशत हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org