ताजा समाचार

अत्यधिक गर्मीले महिला र सर्पले डसेर किशोरीको मृत्यु

अछाम, २७ जेष्ठ । अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ ।

घर नजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले जानकारी दिए ।

मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसइई परीक्षा दिएकी थिइन् ।

अत्यधिक गर्मीकाकारण महिलाको मृत्यु

महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।

आज बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org