ताजा समाचार

राष्ट्रियसभामा कांग्रेसलाई धक्का, आधा बढी सांसदको कार्यकाल दुई वर्षमै सकिने

काठमाडौं ४, असार । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।

संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो ।

दुई, चार र ६ वर्षको कार्यकाल छुट्टाउन संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो ।

कांग्रेसका १३ सदस्यमध्ये ७ सांसदको अवधि दुई वर्षमा नै सकिने भएको छ । राष्ट्रियसभामा दलको नेता रहेका सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाई दुबैलाई २ वर्षको मात्र चिठ्ठा परेको छ । २ सांसदलाई चार वर्ष र बाँकी ४ सांसदलाई ६ वर्षे कार्यकालको चिठ्ठा परेको छ ।

आधा बढि सांसदलाई दुई वर्षको कार्यकालका लागि चिठ्ठा परेपछि कांग्रेसका लागि ठूलो मानसिक दवाव परेको छ । राष्ट्रियसभामा हरेक दुई वर्षमा कार्यकाल सकिएका सांसदको पदमा चुनाव हुने व्यवस्था छ । तर, चुनावमा कांग्रेसको हार पक्का जस्तै छ ।

किनकी एकल संक्रमणीय प्रणालीबाट चुनिएर आएका महिला र खुला सदस्यतर्फका सांसदहरुको कार्यकाल सकिएपछि पनि बहुमतीय आधारमा नै चुनाव हुनेछ ।

दलित र अपाङ्ग तथा अल्पसंख्यक सांसदको चुनाव भने बहुमतीय प्रक्रियाबाटै भएको हो । यसरी हेर्दा दुई वर्षपछि ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका ६ जना सांसद मात्र हुनेछन् भने चार वर्षपछि चार जना मात्र रहने अवस्था आउनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org