ताजा समाचार

बालविवाह रोक्दै गाउँपालिका

बागलुङ १६, साउन । तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा भएका आठ बालविवाह बदर गरेको छ ।

कानून विपरीत भएका बालविवाह रोक्न गाउँपालिकाले अभियान थालेको हो । गाउँपालिका– १, २, ३ र ५ वडाका खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका बालविवाह बदर गरिएको गाउँपालिकाले जनाएको छ ।

बालविवाह हुनै नदिने र भएका भएपनि त्यसलाई बदर गर्न अभियान चलाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । अभियानमा छलफल, सचेतनाका लागि वृत्तचित्र, नाटक प्रदर्शन गर्ने गरिएको छ ।

‘घरघरमै पुगेर अभिभावक र बालबालिकालाईसँगै राखेर परामर्श दिने गर्छौं,’ अध्यक्ष बुढाले भने, “पहिले बालविवाह रोक्न कठिन थियो, तर अहिले अभियान सफल बनेको छ ।”

तमानखोला गाउँपालिकाका अधिकांश वडामा बालविवाह सामाजिक समस्याको रुपमा रहिआएको छ ।

विद्यालय उमेरमै भागेर विवाह गर्ने पुरानो प्रवृत्ति अहिले पनि रहेको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक मानसरी शेरचनले बताए । पछिल्लो समय बालविवाह भएको या हुन लागेको सूचना पाउने वित्तिकै गाउँपालिकाले त्यसलाई रोकेको उनको भनाइ छ ।

गाउँपालिकाले गतवर्ष बनाएको बालविवाह सम्बन्धी वृत्तचित्रले गाउँमा सचेतना बढाउन ठूलो सघाउ पु¥याएको छ । वृत्तचित्रमा बालविवाहबाट समस्या झेलेका व्यक्तिका कथा र त्यसले समाजमा पार्ने असरलाई जीवन्त ढंगले उठान गरिएको छ । बालविवाह गरी छुट्टिन नमान्ने जोडीलाई अधिकारकर्मी र स्वास्थ्यकर्मीले परामर्श समेत दिने गरेका छन् ।

व्यक्तिगत, पारिवारिक, सामाजिक जीवन र स्वास्थ्यमा पुग्ने असरका बारेमा सचेत पारेपछि बालविवाह रोक्न अभिभावक र बालबालिका सहमत बन्न थालेका हुन् । विद्यालय उमरेका किशोरकिशोरीले प्रदर्शन गर्ने बालविवाह सम्बन्धी सचेतनामूलक नाटकले पनि बालविवाह न्यूनीकरणमा टेवा पुगेको छ ।

गाउँपालिका अध्यक्ष बुढाले भने, “बालविवाहमुक्त गाउँपालिका बनाउने हाम्रो लक्ष्य छ ।” गरीबी, अशिक्षा, सचेतना अभाव जस्ता कारणले दुर्गम गाउँमा बालविवाह बढी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org