ताजा समाचार

भीषण वर्षाका कारण जलेश्वर कारागार डुबानमा

महोत्तरी २८, साउन । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ ।

जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो ।

वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ ।

कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले बताए ।

एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताए ।

आगलागीमा आठ लाखको क्षति

यसैगरी महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको एक घरमा आज बिहान भीषण आगलागीमा परी रु आठ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मटिहानी नगरपालिका–८ बस्ने विपीनकुमार लालकर्णको घरमा भएको आगलागीमा रु आठ लाख मूल्य बराबरको क्षति भएको हो ।

बिहान करीब ३–४ बजे कर्णको घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो भने आगलागीमा उनका घरभित्रका नगद, गरगहना, अन्न, लत्ता कपडा, भाडाकुँडा, टेलिभिजन, मोबाइलसहित रु आठ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

कर्णको घरमा भएको आगलागी नेपाल र सशस्त्र प्रहरीले संयुक्तरुपमा नियन्त्रणमा लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org