ताजा समाचार

नमूना काम गरेर देखाउँछु : नवनियुक्त सीईओ ज्ञवाली

काठमाडाैं ३१, साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त सीईओ सुशील ज्ञवालीले सुस्त गतिमा भइरहेको पुनर्निर्माणको कामलाई गति दिने बताएका छन् ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको थियाे भने बुधबार रातीमात्र नियुक्तिकाे पत्र बुझेका छन् ।
नियुक्तिकाे पत्र बुझेसँगै ज्ञवालीले सुस्त गतिमा भइरहेको पुनर्निर्माणको कामलाई गति दिने बताए ।

ʻसरकारले मलाई पुनः जिम्मेवारी दिएको छ, विश्वास गर्नुस् पुनर्निर्माणमा नमूना काम गरेर देखाउँछु,ʼ ज्ञवालीले लोकान्तरसँग भने ।

ज्ञवालीको कार्यकालमा प्राधिकरणले पुनर्निर्माणको योजनाबद्ध तालिका निर्माण गरेर काम शुरु गरेको थियो ।

पुनर्निर्माणको कामले गति लिन लागेको समयमा उनलाई हटाइएको थियो । सीईओ परिवर्तनपछि पुनर्निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन ।

ʻजनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने चुनौती छ । पहिलेको अनुभवले पुनर्निर्माणको कामलाई गति दिने विश्वास छ,ʼ ज्ञवालीले भने, ʻयसपालि कुनै कसर बाँकी नराखी नमूना गरेर देखाउछु ।ʼ

इञ्जिनीयर ज्ञवाली शहरी विकासका विज्ञ हुन् ।

केपी शर्मा ओली  पहिलोपटक प्रधानमन्त्री बनेपछि २०७२ पुस १० गते ज्ञवाली प्राधिकरणको सीईअाे नियुक्त भएका थिए ।

पुनर्निर्माणले गति लिन नसकेको भन्दै ओली सरकार ढलेसँगै ज्ञवालीलाई २०७३ पुस २७ मा बर्खास्त गरी गोविन्द पोखरेललाई सीईओ नियुक्त गरिएको थियो । त्यतिबेला प्राधिकरणको सीईओको रूपमा ज्ञवालीले एक वर्ष काम गरेका थिए ।

चुनाव लड्न भन्दै पोखरेलले राजीनामा दिएपछि युवराज भुसाल प्राधिकरणको तेस्रो सीईओ बनेका थिए ।

निर्वाचन आचारसंहिता लागू भएसँगै पूर्ववर्ती सरकारले गरेका राजनीतिक निर्णय खारेज गर्ने वर्तमान सरकारको निर्णयका कारण भुसालको पद खोसिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org