ताजा समाचार

समृद्दिको विमानमा उडान भर्ने तयारिमा कम्युनिष्ट सरकार

काठमाडाैं ३१, साउन ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर पार्न विभिन्न षड्यन्त्र रचिरहेको बताएका छन् ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कांग्रेस, राजपालगायत पार्टीका नेता–कार्यकर्तालाई ने क पामा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “सरकारलाई कमजोर बनाउन नेपाली कांग्रेसले षड्यन्त्र बुनिरहेको छ । सरकारलाई काम गर्न अवरोध गरेको छ, विभिन्न रिक्त पद पूर्तिमा हस्तक्षेप गरेको छ । कांग्रेसले कुनै एजेन्डा नपाएर सरकारलाई कमजोर बनाउने षड्यन्त्रमा मात्र लागेको छ ।”

प्रधानमन्त्री ओलीले आफूहरु समृद्धिको नयाँ विमान उडाउने तयारीमा रहेको भन्दै ने क पाबाहेक अन्य दलमा पार्टी परित्याग गर्ने पहिरो जाने दाबी पनि गरे ।

“हामी समृद्धि, सुशासन, सदाचार, समाजवादको नयाँ विमान उडाउने तयारीमा छौं । समाजवादको यात्राको लागि मौरीको साथमा लागेमा फूलको थुङ्गामा पुगिन्छ, झिङ्गाको साथ लागेमा फोहोरको थुप्रोमा पुगिन्छ । आज पार्टी प्रवेश गर्ने साथीहरु सबैले मौरीको साथ रोज्नुभएको छ, हामी सबै फूलको थुङ्गामा पुग्छौं,” उनले भने ।

“साथीहरुको प्रवेशले रोल्पा र झापा जोड्ने काम भएको छ, सिंगो नेपाल जोडिएको छ, नेपाली जोडिएको छ । नेपाली कांग्रेसबाट पार्टी प्रवेश गर्नुभएका साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । तपाईंहरुले ढिलो छोड्नुभयो कांग्रेस । पार्टी स्थापना गरेर सत्तामा पुर्याउनु भएका गणेशमान सिंहले उहिलै कांग्रेस गनायो भनेर छोडे, कृष्णप्रसाद भट्टराईले छोडे । तपाईहरु किन ढिला ? ढिलै भएपनि कांग्रेस छोड्नुभयो, राम्रो गर्नुभयो । सबैले उचित किसिमको जिम्मेवारी पाउनुहुन्छ,” ओलीले भने ।

कार्यक्रममा ने क पाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले समृद्धिको नयाँ विमान उडाउन लागेको बताए । दाहालले भने, “नेपाली जनताले हामीलाई दुई तिहाईको मत दिएका छन् । हामी सामाजिक न्यायसहित समृद्धिको नयाँ विमान उडाउन लागिरहेका छौं । विमान उड्ने तयारीमा छ । तपाईंहरुको प्रवेशले विमान उड्न सहज हुनेछ । सरकार कमजोर पार्नेहरुको लागि तपाईंको प्रवेश गतिलो जवाफ हो ।”

उनले ओखलढुंगाबाट कांग्रेस सकिएको दाबीसमेत गरे । ”ओखलढुंगा झापा र रोल्पा नेपाली राजनीतिको ऐतिहासिक नाम हो । आज ओखलढुंगाका साथीहरुको पार्टी प्रवेशले कांग्रेस सकिएको छ,” उनले भने । कसैले विरोध गर्दैमा सरकार नढल्ने दाबी उनले गरे ।

कांग्रेस, राजपालगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता ने क पामा प्रवेश गरेका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org