ताजा समाचार

कस्ता थिए आनन ? विश्व राजनितिज्ञको नजरमा

काठमाडाैं ३, भदाै ।   संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोबल पुरस्कार विजेता कोफी आननको निधनपछि उनीप्रति विश्वभरका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

आननको शनिबार ८० वर्षको उमेरमा स्वीस सहर बर्नस्थित अस्पतालमा निधन भएको थियो ।

उनी थुप्रै वर्षदेखि जिनिभामा बस्दै आएका थिए ।

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले आननलाई राम्रो विश्वका लागि एकजना मार्गदर्शक भनी सम्झिएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई उल्लेखनीय व्यक्ति भनी व्याख्या गरेका छन् ।

नेतृत्वदायी भूमिका

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले आननले सधैँ राम्रो विश्व बनाउन चाहेको बताएका छन् ।

घानाका नागरिक आननले राष्ट्रसंघको प्रमुखको रुपमा सन् १९९७ देखि २००६ सम्म काम गरेका थिए र उक्त पदमा पुग्ने उनी एकमात्रै अश्वेत अफ्रिकी हुन् ।

त्यसयता उनले सिरियाका लागि राष्ट्रसंघीय विशेषदूतको भूमिका निर्वाह गरेका थिए र द्वन्द्व समाधानका लागि नेतृत्वदायी प्रयासहरूसमेत गरेका थिए ।

कोफी आनन फाउण्डेसनले केही समयको बिमारीपछि शनिबार शान्तिपूर्वक उनको निधन भएको जनाएको छ ।

असल राजनेता

फाउण्डेसनले एउटा विज्ञप्ति निकाल्दै उनी निस्पक्ष र शान्तिपूर्ण विश्वका लागि जीवनभर प्रतिबद्ध रहेको जनाएको छ ।

उनलाई मानव अधिकारको क्षेत्रमा काम गरेको भन्दै नोबल शान्ति पुरस्कार समेत दिइएको थियो ।

इरानको हमलालाई लिएर आननसँग विमती राखेका ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई सच्चा राजनेता र असल मित्र रहेको बताएका छन् ।

राष्ट्रसंघका अहिलेका प्रमुख गुटेरसले आफ्ना पूर्ववर्तीलाई श्रद्धाञ्जली दिनेमा नेतृत्व गर्दै कोफी आनन भनेकै धेरै अर्थमा राष्ट्रसंघ रहेको बताएका छन् ।

विवेकी

आननले कसैसँग तुलनै नहुने गरी गरिमा बढाएको र दृढ संकल्प राखेको पनि गुटेरसले बताएका छन् ।

रुसी राष्ट्रपतिले पनि रुसीहरूको दिलमा आननको सम्झना सदैव बाँच्ने बताएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले एक महान् अफ्रिकी कुटनीतिज्ञ र मानवअधिकारवादी मात्रै नगुमाएर अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका एक विवेकीलाई पनि गुमाएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org