ताजा समाचार

प्रचण्डसँगको भेटमा अमेरिकी मन्त्रीले भनिन् – यो स्थायी सरकार हो, अमेरिका सँगै काम गर्न तयार छ

काठमाडाैं १०,भदाै ।  अमेरिकी दक्षिण तथा मध्य एसिया उपसहायक मन्त्री एलिस जि वेल्सले वर्तमान सरकार ५ वर्षको स्थायी सरकार भएकाले विकासको बाटोमा अगाडि बढ्ने र अमेरिकी सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गरिन्।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै वेल्सले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन्। अध्यक्ष निवास खुमलटारमा आइतबार बिहान भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थन रहेने बताएकी हुन्।

भेटमा नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि अध्यक्ष दाहालले धन्यवाद दिए।
उनले ७० वर्षदेखिको राजनैतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पारे।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोगको अपेक्षा रहेको अध्यक्ष दाहालले बताएका थिए।
नेपालमा लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै दाहालले लगानी भित्राउन सहयोग मागे।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गरिन्। उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताइन्।
नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको भनाइ थियो। उनले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताइन्।

उनले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org