ताजा समाचार

साफ च्याम्पियनसिपको लागि २० सदस्यीय नेपाली टोली घोषणा,४ वर्षपछि फर्किए निराजन

काठमाडाैं ११,भदाै । बंगलादेशमा हुने साफ सुजुकी कप फुटबलका लागि २० सदस्यी नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विराज खड्काको कप्तानीमा सोमवार २० सदस्यीय टोली घोषणा गरेका हुन्।

टोलीमा निराजन खड्काले कमब्‍याक गरेका छन्। नियमित डिफेण्डर कमल श्रेष्ठ र फरवार्ड जर्ज प्रिन्स कार्की भने टोलीमा अटाएनन्। यसैगरी डिफेण्डर सुमन अर्यालले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन्। यसअघि प्रारम्भिक चरणमा छनोटमा परेका २९ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो।

गत सिजन मोफसलमा गरेको प्रदर्शनमा  थ्री स्टारको लागि राम्रो प्रदर्शन गरेको र ट्रेनिङहरुमा पनि राम्रो गरेकाले निराजनको कमब्याक भएको प्रशिक्षक बालगोपालले बताए।  ‘विगत २ महिना भन्दा बढी समयको ट्रेनिङ, थाइल्याण्डमा भएको १० दिनको क्याम्प तथा एसियन गेम्सको ३ वटा खेलपछि हामीले साफको लागि अन्तिम टोली छनोट गरेका हौँ। महर्जनले पहिलोपोस्टसँग भने, ‘गत सिजन निराजनले थ्री स्टारका लागि गरेको प्रदर्शनका कारण नै उनले राष्ट्रिय टिममा कमब्याक गरेका हुन्। समग्रमा हाम्रो राम्रो टिम छनोट गरेका छौँ।’

घरेलु फुटबलमा फ्रेण्ड्स क्लबबाट करियर सुरु गर्दै मनाङ मर्स्याङ्दी र थ्री स्टार वस्ता चर्चित क्लबबाट खेलिसकेका निराजनले सन् २००८ मा नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका थिए।

इन्डोनेसियामा एसियन गेम्स खेलेका सुमन लामा पनि टोलीमा अटाएन्। सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिप खेल्ने टिममा रहेका ११ खेलाडी अहिले पनि टिममा छन्। त्यतिखेर नेपालको कप्तान रहेका अनिल गुरुङले सन्यास लिइसके भने मिडफिल्डर विक्रम लामा पूर्ण रुपमा फिट भइसकेका छैनन्।

साफका लागि छनोट भएका वर्तमान टोलीका ५ खेलाडीले  सन् २०१३ काठमाडौँमै भएको साफ च्याम्पियनसिप  समेत खेलेका थिए। त्यतिखेर घरेलु मैदानमा खेल्नेमा विराज महर्जनसहित रोहित चन्द, किरण चेम्जोङ, भरत खवास र विमल घर्ती मगर थिए। विमलले त्यही साफमा नेपालको सिनियर टिममा डेब्यु गर्दै पाकिस्तान विरुद्ध गोल गरेका थिए।

बंगलादेशमा हुने साफमा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन्।

२० सदस्यीय नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु, बिकेश कुथु, एलान न्यौपाने

डिफेण्डर : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डर : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org