ताजा समाचार

भीभीआईपी आजदेखि काठमाडौं आउन सुरु, के हुन् नेपालका प्राथमिकता ?

काठमाडौं १२,  भदाै  ।गते उद्घाटन भएर १५ गते समापन हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनको औपचारिक तयारीका लागि आज (मंगलबार) परराष्ट्र सचिवस्तरीय बैठक बस्दैछ ।

सचिवस्तरिय बैठकका लागि हिजै सदस्य मुलुकका परराष्ट्र सचिवहरु काठमाडौं आइसकेका छन् । सचिवस्तरीय बैठकको परराष्ट्र सचिव शंकरदास बैरागीले अध्यक्षता गर्नेछन् । बैठकका लागि भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका परराष्ट्र सचिवहरु सोमबार काठमाडौं ओर्लेका हुन् ।

सचिवस्तरिय बैठकमा समग्र बिमस्टेकको तयारी र एजेण्डाबारे छलफल हुनेछ । तयार एजेण्डाहरु बुधबार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा छलफल हुने र बिहीबारबाट सुरु हुने सम्मेलनमा प्रस्तुत गनिरेछन् ।

के हुन् नेपालका प्राथमिकता ?
बिमस्टेकका १६ वटा प्राथमिकता क्षेत्रमध्ये नेपालले ५ क्षेत्रलाई विशेष प्रथमिकतामा राखेको छ । जसअन्तर्गत पहिलो प्राथमिकतामा कनेक्टिभिटी (सम्पर्क सञ्जाल) छ र यसमा रेलवे, सडक, विद्युत् प्रसारणलाइन, सूचना प्रविधिका लागि अप्टिकल फाइबर विछ्याउने तथा हवाई सम्पर्क जस्ता विषय समावेश छन् ।
शिखर सम्मेलनमा व्यापार तथा लगानी प्रवद्र्धनका विषय पनि प्राथमिकतामा परेका छन् । यीनै विषयसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयले तयारी गरेको छ ।
बिमस्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन जस्ता विषय छन् ।

बिमस्टेक कहिले कहाँ भयो ?
बिमस्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मामा सम्पन्न भइसकेको छ । चौथो नेपालमा हुँदैछ । हालसम्म बिमस्टेकका परराष्ट्रमन्त्री स्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन् ।

म्यानमारका राष्ट्रपति आज आउँदै
बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आउँदैछन् । नेपाल आएकै दिन नेपाल र म्यानमारबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा दुवै देशका प्रधानमन्त्री सहभागी हुनेछन् । त्यस्तै बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरु पनि मंगलबार नै काठमाडौं आउँदैछन् । बिमस्टेक शिखर सम्मेलनअघि हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सदस्य राष्ट्र भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्डका विदेशमन्त्री तथा विदेश राज्यमन्त्री मंगलबार काठमाडौं आउन लागेका हुन् ।
बुधबार काठमाडौंमा बस्ने बिमस्टेक विदेशमन्त्रीहरुको १६ औं बैठक बसेर हस्ताक्षरका लागि तयार पारिएका समझदारी तथा सम्झौतापत्र र काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिने बताइएको छ  ।
शिखर सम्मेलनमा सहभागी हुन बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन् । यस्तै भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउने छन् ।

तयारीबारले प्रधानमन्त्री संसदलाई जानकारी दिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक तयारीबारे मंगलबारै संसदमा सम्बोधन गर्दैछन् । मंगलबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

बिमस्टेकका १४ एजेन्डा 
–नयाँदिल्लीमा २०१७ नोभेम्बर २७ र २८मा सम्पन्न बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टसम्बन्धी प्रतिवेदन ।

–नयाँदिल्लीमा मे १० र ११ मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको प्रतिवेदन ।

–ढाकामा २०१७ नोभेम्बर १३ र १४मा सम्पन्न यातायात तथा सञ्चारसम्बन्धी बिमस्टेकको दोस्रो बैठकको प्रतिवेदन ।

–नयाँदिल्लीमा २०१८ अप्रिल ९ र १० मा सम्पन्न बिमस्टेक मोटर भेइकल एग्रिमेन्टको प्रतिवेदन ।

–श्रीलंकाको कोलम्बोमा २०१७ नोभेम्बर २१ र २२ मा सम्पन्न बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटीसम्बन्धी विज्ञसमूहले तयार गरेको प्रतिवेदन ।

–बंगलादेशको ढाकामा २०१८ मार्च २८ बिमस्टेकका सुरक्षा प्रमुखहरूको दोस्रो बैठकले तयार गरेको प्रतिवेदन ।

–बंगलादेशको ढाकामा २०१८ अगस्ट १३ र १४मा सम्पन्न बिमस्टेकको संयुक्त कार्यदलले तयार गरेको प्रतिआतंकवाद र अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन ।

–थाइल्यान्डको चियाङ रायमा २०१७ नोभेम्बर १२ देखि १६ सम्म बसेको विज्ञसमूहको छैठौँ बैठकले तयार गरेको कृषिमा सहकार्यसम्बन्धी प्रतिवेदन ।

–गरिबी निवारणसम्बन्धी २०१७ नोभेम्बर १ मा काठमाडौंमा सम्पन्न वरिष्ठ अधिकारीहरूको बैठकले तयार गरेको प्रतिवेदन ।

–२०१८ डिसेम्बर १९ र २० मा श्रीलंकाको कोलम्बोमा गरिबी निवारणसम्बन्धी बैठकले तयार गरेको प्रतिवेदन ।

–२०१७ अक्टोबर २४ र २५ मा नयाँदिल्लीमा परम्परागत औषधिसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो बैठकले तयार गरेको प्रतिवेदन ।

–श्रीलंकालाई अध्यक्षता हस्तान्तरण तथा अर्को सम्मेलनको मिति र स्थान ।

–बिमस्टेक चौथो शिखर सम्मेलनको घोषणापत्र मस्यौदा, समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी विषयको तयारी ।

–बंगलादेशको ढाकामा २०१८ अप्रिल ५ मा बिमस्टेक संयुक्त कार्यदलको विशेष बैठकले तयार गरेको स्थायी सचिवालय स्थापनासम्बन्धी प्रतिवेदन, त्यससम्बन्धी श्रीलंकाको कोलम्बोमा २०१८ जुलाई १० को बैठकको प्रतिवेदन, सचिवालयको अनुमानित बजेट तथा गाडी खरिदसम्बन्धी मस्यौदा ।
भदौ १५ मा ओली मोदी वार्ता

विमस्टेकमा सहभागि हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच भदौ १५ गते वार्ता हुने भएको छ । सो वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत गर्ने तयारी भएको छ । गत चैत २३ मा भएको प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पाँच वर्षमा रेलवे लाइन निर्माण सम्पन्न गर्ने र सम्पूर्ण लगानी भारतले गर्ने सहमति भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन भारतबाट रक्सौलसम्म बल्क कार्गोसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गर्ने कार्यक्रम छ । मोदीले भारतले बनाएको पशुपतिनाथ धर्मशाला हस्तान्तरण गर्नेछन् । त्यस्तै श्रीलंकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले १६ भदौमा औपचारिक वार्ता गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org