ताजा समाचार

सागरको उत्कृष्ट ब्याटिङ,नेपालले ओमानलाई दियो २२१ रनको

काठमाडाैं  १३,भदाै ।  सागर पुनको उत्कृष्ट ब्याटिङमा नेपालले एसिया कप छनोटमा ओमानविरूद्ध २२१ रनको लक्ष्य दिएको छ।

मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गर्दै ८३ रन बनाए।

संकटमा परेको नेपाली टिमलाई सम्हालेका पुनले ८५ बल खेल्दै २ छक्का र ६ चौकासहित ८३ रन बनाएर रन आउट भए।

सागर पुनसँग ९२ रनको साझेदारी गरेका आरिफ शेख ३५ रनमा आउट भएका थिए।

टिमको स्कोर ८० रन हुँदा ४ विकेट गुमाइसकेको अवस्थामा नेपालका लागि पुन र शेखले ९२ रनको साझेदारी गर्दै टिममलाई सम्मानजनक स्कोर बनाए।

अन्तिममा आएका करण केसीले बिस्फोटक ब्याटिङ गर्दै ८ बलमा २३ रन बनाएर नटआउट रहे।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाएर आउट भएका थिए। उनले ६० बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे। यस्तै दिपेन्द्र सिंह ऐरीले ९ रन बनाउँदा कप्तान पारस खड्का ८ रनमै आउट भए।

यसअघि ओपनर सुवास खकुरेल ४ रन बनाएर आउट भएका थिए। सोमपाल कामी ५ रनमा आउट हुँदा रोहितकुमार पौडेल शून्य रनमा आउट भए। बसन्त रेग्मीले कुनै पनि बल खेल्नै नपाइ शुन्यमा रन आउट भए।

ओमानका लागि मोहम्मद नादिम बिलाल खान र लालचेताले समान २-२ विकेट लिएका थिए।

नेपाल र ओमान डिभिजनस्तरका चिरप्रतिद्धन्द्धी हुन्। सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो।

पहिलो खेलमा ओमानविरुद्ध मैदान उत्रदा नेपाल शानदार सुरुवातको खोजीमा रहनेछ । तर, नेपाललाई सोचे जस्तो सहज छैन । किनकी ओमान पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।

पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन। एकदिवसीय क्रिकेटमा ६ पटक भिडे पनि नेपालले पछिल्लो पाँच वर्षयता ओमानलाई हराउन सकेको छैन। तर, ६ भेटमा नेपाल र ओमानले समान ३/३ पटक जित निकालेका छन् ।

पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न नसकेको नेपालले सन् २००२ को एसीसी ट्रफीमा ओमानलाई १०५ रनले हराएको थियो। त्यसको आठ वर्षपछि भिड्दा नेपाल ६ विकेटले विजयी भएको थियो।

अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो। त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ।

जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग खेल्नेछ । जुन खेललार्इ आइसीसीले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता दिएको छ।

एसिया कपमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन्।

छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन्  । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ ।  छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org