ताजा समाचार

साउदी जाने युवाको परिश्रमिक ९ हजार बढ्यो

काठमाडाैँ १,असोज ।  सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभूत पारिश्रमिकका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन गरेको हो ।
पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् ।

पुनरावलोकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी अब साउदी जाने नेपालीले १३०० रियाल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ । अहिले साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर १ हजार रियाल अर्थात ३० हजार रुपैयाँ पाउँदै आएका छन् । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले लागू गरिएको पारिश्रमिक र भत्ताअनुसार नै दूतावासबाट मागपत्र प्रमाणीकरण गरेर ल्याउनुपर्ने बताए । “साउदीका रोजगारदाताले तोकिएको पारिश्रमिकअनुसार नेपालमा मागपत्र पठाउनु पर्नेछ,” दाहालले कारोबारसँग भने, “न्यून पारिश्रमिकमा काम गर्न जाने नेपाली युवालाई यो प्रस्तावबाट फाइदा पुग्ने छ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावलाई गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नेपालबाट जाने डाक्टर, इन्जिनियर र अन्य दक्ष कामदारले न्यूनतम ३ लाख ४५ हजार प्राप्त गर्नेछन् । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुने छन् । यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३०० नेपाली अदक्ष कामदारले पाउने छन् । यसरी नै दक्ष कामदारले १ हजार ७ देखि ३ हजारसम्म पाउनेछन् । त्यसैगरी अर्धदक्ष कामदारले १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म पाउनेछन् । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, ओहोरदोहोर हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम ज्यालामा भएको नयाँ व्यवस्था भने राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ । सो बढेको तलबमा मात्रै साउदी जाने कामदारको मागपत्र प्रमाणीकरण हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यो नियम लागू भएपछि रोजगारदाताले नेपाली कामदार लिन कम्तीमा १ हजार ३ सय रियालभन्दा बढीको श्रम सम्झौता गर्नु पर्ने हुन्छ । विगत ३ वर्षमा मात्र साउदी जान अन्तिम श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ३ लाख ८९ हजार ८९१ रहेको थियो । पछिल्लो ३ वर्षको तथ्यांकअनुसार साउदी अरब नेपालबाट कामदार माग गर्ने कतारपछि दोस्रोे ठूलो श्रम गन्तब्य मुलुक हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org