ताजा समाचार

उपराष्ट्रपति –सिपिसी सिचुवान प्रान्त सचिवबीच शिष्टाचार भेट

छेन्दु– चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिसँग सिपिसीका सिचुवान प्रान्त सचिवले स्थानीय समय अनुसार आज (शुक्रबार) बिहान ९ बजे शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए ।

भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन नेपाल सम्बद्ध विशिष्ट प्रकारको रहेको भन्दै उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए । उनले दुई देशबीचको सम्बन्ध विस्तारमा खेलिरहेको भूमिकाका लागि उपराष्ट्रपतिलाई धन्यवाद दिए ।

भेटमा उपराष्ट्रपतिसँग चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, उपराष्ट्रपति कार्यालयका सचिव रामप्रसाद आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत रहेका थिए । सिचुवान प्रान्तको तर्फबाट सचिव सहित गभर्नर, उपगभर्नरहरु सहभागी थिए ।

उपराष्ट्रपति पुनसँग शुक्रबार नै सिपिसीका यिपिन नगर सेक्रेटरी लिउ झोङपोले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति शुक्रबारनै यिपिन नगरको भ्रमणका लागि छेन्दुबाट त्यसतर्फ प्रस्थान गरेको उपराष्ट्रपतिका प्रेश संयोजक मनोज घर्ती मगरले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org