ऊर्जा मन्त्रीलाई प्रश्न–विद्यालयले कसरी पाउँछ विद्युत् मिटर ?
काठमाडौँ । “माननीय मन्त्री ज्यू, विद्यालयमा कम्प्युटर क्षिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपुर्जा छैन । सोही कारण हामीले विद्युत् मिटर राख्न पाएका छैनौँ । हामीले विद्युत् मिटर नपाएकै कारण विद्यार्थीलाई कम्प्युटर पढाउन नपाउने हो त ?” यो भनाइ हो काभ्रे जनजागृति माविका शिक्षक ठाकुरप्रसाद उप्रेतीको ।
शिक्षक उप्रेती त्यतिमा मात्रै रोकिनुभएन । उहाँले भन्नुभयो, “मिटर जडान गर्न नेपाल विद्युत् प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रले रु १० हजार धरौटी राख्न भनेको छ । हामीले कसरी मिटर लिने होला ?”
अभिभावकले विद्यालयमा कम्प्युटर पढाइ गर्न लामो समयदेखि माग गर्दै आएको भएपनि मिटर नपाउँदा विद्युत् लाइन जोड्न पाइएन, शिक्षक उप्रतीले थप गुनासो गर्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार १२ बजेदेखि १३ बजेसम्म एक घण्टा ११५१ नम्बरको पैसा नलाग्ने फोनमा ग्राहकका गुनासो सम्बोधन गर्ने पहल गर्नुहुन्छ भन्ने सुनेकाले आफूले फोन गरेको उप्रेतीको भनाइ थियो ।
शिक्षक उप्रेतीको भनाइ ध्यानपूर्वक सुनिरहनुभएका मन्त्री पुनले भन्नुभयो, “तपाइँको समस्या समाधान हुन्छ । लालपुर्जा नभएकालाई समेत विद्युत् मिटर दिने प्रक्रिया शुरु भइसकेको छ । तपाइँ प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ ।
शिक्षक उप्रेतीसँगको वार्तासँगै मन्त्री पुनका सहयोगीले प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुखलाई फोन लगाए । मन्त्री पुनले काभ्रे वितरण केन्द्रका प्रमुखलाई जनजागृति माविको समस्या समाधान गर्न निर्देशन दिनुभयो । शुक्रबार मन्त्री पुनले विभिन्न क्षेत्रका नौ नागरिकसँग संवाद गर्नुभयो । उहाँले उनीहरुका गुनासा ध्यानपूर्वक सुन्नुभयो र सकेसम्म समाधान गर्ने प्रयास पनि गर्नुभयो ।
दोलखा बिगु गाउँपालिका–८ का सञ्जीव ओलीले चार महीना पहिले लाइन विस्तार गरिएको भएपनि करीब ३०० मिटर तार नहुँदा विद्युतीकरण गर्न समस्या भएको गुनासो गर्नुभयो । ओलीले प्राधिकरणको दोलखा वितरण केन्द्रले आफूहरुको माग सम्बोधन नगरेको गुनासो मन्त्रीलाई सुनाउनुभयो । मन्त्री पुनले तत्कालै दोलखा वितरण केन्द्रका प्रमुखलाई समस्या समाधान गरिदिन निर्देशन दिनुभयो ।
यस्तै मन्त्री पुनलाई गुनासो सुनाउनेमा बुटवल उपमहानगरपालिकका घनश्याम कँडेल हुनुहुन्थ्यो । उहाँले पानी जडानका लागि विद्युत् उपलब्ध गराइदिन माग गर्नुभयो । मकवानपुर भीमफेदीका राजकुमार पुडासैनीले काठको पोल विस्थापनका लागि प्राधिकरणले पटकपटक स्थलगत निरीक्षक गरेको भएपनि १४५ पोल फेर्नुपर्ने भएकाले काम रोकिएको गुनासो गर्नुभयो ।
थापाथलीको सुकुम्वासी बस्तीबाट बलबहादुर खत्रीले फोन गरेर अस्थायी मिटर जडान गरेका कारण प्रतियुनिट रु २० का दरले महसुल तिर्नुपरेको भन्दै स्थायी मिटरको प्रबन्ध गरिदिन आग्रह गर्नुभयो । उहाँले लालपुर्जा नभएका व्यक्तिलाई समेत मिटर उपलब्ध गराउने सुने पनि प्राधिकरणले अस्थायी मिटर दिएर बढी शुल्क लिएको भन्दै समस्या समाधान गरिदिन मन्त्री पुनलाई अनुरोध गर्नुभयो ।
दोलखा भीमेश्वरका नवराज कार्कीले तामाकोशी काठमाडौँ प्रसारण लाइनको टावर सकेसम्म सार्वजनिक जग्गाबाट लैजानुपर्ने बताउनुभयो । खोटाङका प्रेम गुरुङको माग भने फरक थियो । उहाँले विद्युत् महसुल मिनाहा गरिदिनु पर्नेमा जोड दिनुभयो ।
साँखुका सत्यनारायण तिवारीले फर्निचर व्यवसायका लागि थ्री फेज विद्युत् लाइन उपलब्ध गराइदिन अनुरोध गर्नुभयो । फर्निचर व्यवसाय गरेर स्वदेशमा नै रहने थिए तर थ्री फेज लाइन नभएका कारण समस्या भएको छ, उहाँको भनाइ थियो । बारा विश्रामपुरका अमिरलाल पालले पनि विद्युत् वितरण सहज बनाउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्री पुनले नागरिकका समस्या सम्बोधन गर्न हरेक शुक्रबार नियमित रुपमा एक घण्टा संवाद गर्दै आउनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मातहतका निकायमा भइरहेको काम कारवाहीका बारेमा नागरिकले कस्तो प्रतिक्रिया दिएका छन् भन्ने थाहा पाउन पनि हटलाइन प्रभावकारी भएको मन्त्री पुनको भनाइ छ ।
सकेसम्म नागरिकको गुनासा सम्बोधन गर्ने प्रयास गरिएको छ । महत्वपूर्ण कार्यक्रममा व्यवस्त हुनुपर्दा वा देशका विभिन्न स्थानमा जाँदाबाहेक हटलाइनमा नागरिकका गुनासा सुन्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताउँदै मन्त्री पुनले भन्नुभयो, “नागरिकले असाध्यै राम्रो प्रतिक्रिया दिनुभएको छ । यसबाट मन्त्रालय र मातहतका निकायमा भएका काम कारवाहीको बारेमा समेत जान्ने अवसर मिलेको छ ।”
रासस
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...