ताजा समाचार

घुस्या डोटीका सहायक वन अधिकृत डिसी सवा ३ लाख घुससहित अख्तियारको नियन्त्रणमा

डडेल्धुरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३ लाख रुपैयाँ घुससहित एक जना सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनका साथबाट ३ लाख २६ हजार रुपैयाँ घुस लिएको रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट ५ लाख ४५ हजार बैंकमा हाल्न भनेछन् र ठेकेदारले पैसा हालिदिएछन्,’ उनले भने, ‘अरु पैसा निकालेर यताउता पारिसकिएको रहेछ। हाम्रो टोलीले ३ लाख २६ हजार रुपैयाँ मात्रै बरामद गरेको छ।’

उनका अनुसार डिएसपीको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइएको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

सहायक वन अधिकृत डिसी लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिनिन्छन्। विगतमा भएका वन फडानीका मुद्दामा पनि उनको नाम निकै चर्चामा आउने गरेको थियो।

डडेल्धुरामा रहँदा उनले तत्कालीन जिल्ला वन अधिकृत कृष्ण भट्टमाथि कुटपिटसमेत गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org