ताजा समाचार

विप्लवका दाजु “वीरजंग” सहित २१ नेता-कार्यकर्ताले मानेनन् रिहा हुन्

काठमाडाैँ । जिल्ला अदालत दाङबाट धरौटीमा रिहा हुने आदेश पाएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चन्दसहित  २१ नेता-कार्यकर्ताले रिहा हुन इन्कार गरेका छन् ।

अदालतको रिहा हुने आदेशपछि पनि कारागार नै रोज्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चन्दसमेत छन् ।

गत कात्तिक २९ मा दाङबाट पक्राउ परेका विप्लव नेतृत्वका २१ नेता-कार्यकर्तालाई जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्न दाङ-देउखुरी जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापाको इजलासले सोमबार आदेश दिएको थियो ।

अदालतको यस्तो आदेशपछि रिहा हुनुपर्नेमा सबै २१ जनै विप्लवका नेता-कार्यकर्ताले कारागारमै बस्ने निर्णय गरेका हुन् ।

अदालतको आदेशपछि पनि पुनः पक्राउ गर्ने उद्देश्यले अदालत परिसर बाहिर प्रहरी तैनाथ भएपछि रिहा नभएर कारागार नै रोजेको विप्लवका दाजु वीरजंगले बताए ।

गत कात्तिक २९ गते विप्लव समूहको राप्ती व्युरो बैठक बसिरहेका बेला प्रहरीले नेपाल-भारत सीमामा पर्ने दाङको राजपुर गाउँपालिका-४, मगराइना गाउँबाट यसका मध्य-पश्चिम व्युरो इञ्चार्ज वीरजंगसहितका २१ नेता-कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध संगठित अपराध गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org