ताजा समाचार

सांसद विकास कोष आवश्यक छैन, यसको रकम कोरोना कोषमा राखौँ :प्रवक्ता श्रेष्ठ

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायाणकाजी श्रेष्ठले संसद विकास कोष अनावश्यक मात्र नभइ अनुचित समेत भएको बताएका छन्।

संसद विकास कोष आवश्यक नभएको भनेर आफूले धेरै पहिल्यैदेखि कुरा उठाएको आएको श्रेष्ठको दावी छ।

उनले अहिले मुलुक कोरोना भाइरस (कोभिड १९)को संकटमा रहेका कारण सांसद विकास कोषको खर्च नभएको रकम कोरोना कोषमा राख्न आग्रह समेत गरेका छन्।

प्रवक्ता श्रेष्ठले अवदेखि सांसद विकास कोष शीर्षकमा बजेट नै नराख्न आग्रह गर्दै यसबारे तत्काल निर्णय गर्न समेत आग्रह गरेका छन्।

‘मैले पहिले देखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ’, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अहिले कोभिड–१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड–१९ कोषमा राखौं र अबदेखि यो शीर्षकमा बजेट नराखौं। यो सही छ। निर्णय गरिहालौं।’

कोरोनाको संकटका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा गर्ने निर्णय गरेसँगै सांसद विकास कोषको रकम कोरोना कोषमा राख्नुपर्ने माग उढ्न थालेको बेला प्रवक्ता श्रेष्ठले यस्तो आग्रह गरेका हुन्।

संघीय सरकारले सांसद विकास कोषअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड र प्रदेश सरकारले १ करोड ९२ लाख दिँदै आएका छन्।

सो रकम राष्ट्रिय योजानामा नपरेका र सांसदले आवश्यक देखेका विकास योजनामा खर्च गर्ने भनिए पनि त्यसको दुरुपयोग हुँदै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org