ताजा समाचार

लिपुलेक हाम्रो हो, चीन र भारतसँग वार्ता गरी समाधान गर्नुपर्छ : देउवा

काठमाडौं ।नेपालीका कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवै देशसँग वार्ता गरी सीमा समस्याको समाधान खोज्न सरकारलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले सरकारले नेपाली भूमि विवादित नभएको, भारतले अतिक्रमण गरेको प्रष्ट पार्दै तत्काल भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने बताएका छन् ।

उनले बैठकबाट बाहिर निस्किएर सञ्‍चारकर्मीसँग कुरा गर्दै भने, “काली नदी वारीको भूभाग नेपालकै हो । तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ । त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ ।”

त्यसैगरी सभापति देउवाले लिपुलेकमा नेपाललाई बाहिर राखेर भारत-चीनबीच व्यापरिक नाका बनाउने सम्झौता भएकोमा चीन र भारत दुबैसँग संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

उनले भने, “सरकारले लिपुलेकका विषयमा चीन र भारत दुबैलाई राखेर संवादमार्फत समस्या समाधान गर्नुपर्छ ।”

‘विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याऊँ’

कांग्रेसका सभापति देउवाले नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गराउन सरकालाई आग्रह गरेका छन् ।

बैठकबाट बाहिर निस्किएका कांग्रेस सभापति देउवाले सञ्‍चारकर्मीसँग कुरा गर्दै भने, “लाखौं नेपालीहरु विदेशमा छन् । त्यहाँ कोरोना संक्रमणबो दर बढिरहेको छ भने लाखौंको रोजगारी गुमेको अवस्था छ । त्यहाँ नेपालीहरु रोजगारी गुमेका कारण अलपत्र परेका छन् । विदेशमा अलपत्र परेका सबै नागरिकलाई तत्काल स्वदेश ल्याएर क्‍वारेन्टाइनमा राखिनुपर्छ ।”

उनले नेपालीहरुलाई फिर्ता गरेर स्वदेशमै काममा लगाउने उपयुक्त अवसर भएकोसमेत बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org