ताजा समाचार

नेकपा स्थायी कमिटी बैठकमा गएनन् प्रधानमन्त्री ओली

काठमाडौं । विभिन्‍न सात एजेण्डा तय भएपछि बसिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री तथा पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कार्यव्यस्ताका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको बताए। ‘उहाँ अहिले आफ्नो कामको व्यस्तताले बैठकमा उपस्थित हुन सक्नुभएको छैन’, थापाले भने, ‘तर उहाँ जतिबेला पनि बैठकमा आउन सक्नुहुन्छ।’  ओली अनुपस्थित भए पनि बालुवाटारमा स्थायी कमिटी बैठक भने जारी रहेको छ।

एमसिसी, सरकारको कामको समीक्षा र पार्टी एकीकरणसहितका विभिन्‍न एजेण्डामा आजदेखि स्थायी कमिटी सदस्यहरुले बोल्ने कार्यतालिका तय भएको थियो।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै जारी स्थायी कमिटी बैठकमा कार्यव्यस्तता कारण देखाउँदै ओली अनुपस्थित भएका हुन्। पहिलो दिन बुधबारको बैठकमा अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीको चर्काचर्की परेको थियो।

ओलीले त्यसबेला सरकारले चौतर्फी राम्रो काम गरिरहेको बताएका थिए भने प्रचण्ड र नेपालले कडा आलोचना गरेका थिए। प्रचण्डले ओलीले अहिले कपटी राजनीति गरेकाले आफूले विगतका सम्झौताबाट पछि हट्नु गल्ती भएको बताएका थिए। वरिष्ठ नेता नेपालले ओलीका कुरा पटक पटक सुन्दा सुन्दा कान थाकिसकेको भन्दै कटाक्ष गरेका थिए। नेता नेपालले सरकारको असफलता हेर्न आफूसँगै सडकमा निस्किन ओलीलाई चुनौती दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org