ताजा समाचार

अख्तियारको क्षेत्राधिकारसम्बन्धी विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुँदै

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउने सम्बन्धि संशोधन विधेयक सोमबार राष्ट्रियसभामा पेस हुने भएको छ ।

संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा चौथो नम्बरमा यो विधेयक पेस हुने उल्लेख छ । अख्तियारलाई निजी क्षेत्र पनि हेर्न दिने अधिकार संशोधनमा थपिएपछि यसको विरोध भएको थियो ।

राष्ट्रियसभा बैठक । तस्बिर : रासस विरोध बढेपछि नेकपाले विधेयक तत्काल रोक्ने निर्णय गरेको थियो । तर, आइतबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा रहेका नेकपा सांसदहरुले पार्टी निर्णय बमोजिम केही बुँदा हटाउने सहमति गरेको जनाएका छन् । समितिका सभापति परशुराम मेघी गुरुङका अनुसार विधेयकबाट ‘पब्लिक लिमिटेड कम्पनीको स्तर र आधार तोकेरमा राजपत्रमा प्रकाशित गर्ने’, ‘अख्तियारलाई ५० हजार जरिवाना गर्ने अधिकार दिने’ र ”कुनै पनि विकास निर्माण कार्यमा स्टे अर्डर दिनसक्ने अधिकार’ हटाउने सहमति भएको छ । यस्तै, ‘अनुचित कार्य गरेको हो होइन हेर्ने अधिकार’ पनि हटाउन सत्तारुढ सांसदहरु सहमत भएका हुन् ।

नेकपा नेताहरु सुवास नेम्वाङ र दीनानाथ शर्मासमेतको उपस्थितिमा यो सहमति भएको सभापति गुरुङले बताए । उनले यसको जानकारी विपक्षी कांग्रेसको राष्ट्रियसभाका नेता राधेश्याम अधिकारीलाई दिइएको बताए । तर, अधिकारले भने यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

विधेयकबाट यी बुँदा हटाउँदा यसले निजी क्षेत्र हेर्नेगरी अधिकार दिने प्रावधान हट्ने भएकाले अब यसमा विपक्षीको विरोध नरहने समितिका एक सदस्यले दावी गरे । राष्ट्रियसभामा नेकपाको बहुमत भएकाले यो विधेयक आजै पारित हुने संभावना छ । पारित भएपछि यो तल्लो सदन प्रतिनिधिसभामा जानेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org