ताजा समाचार

प्रचण्डले राष्ट्रपतिलाई भने : महाअभियोग अफवाह मात्रै हो, भ्रममा नपर्नुस्

काठमाडौं । आफूलाई हटाउने र राष्ट्रपतिलाई समेत महाभियोग लगाउने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि नेकपाका शीर्ष तीन नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

आइतबार तीन शीर्ष नेता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतलनिवास पुगेर वास्तविकता प्रष्ट पारेका हुन् ।

त्यसक्रममा तीनै नेताले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने कुनै प्रयास नगरेको र त्यो सोच्न पनि नसक्ने बताएका थिए ।

‘हामी तपाईलाई विवादमा मुछ्ने पक्षमा छैनौँ, हाम्रो चाहना पनि त्यो हुँदापनि होइन’, एक नेताले भने, ‘यो पार्टीको आन्तरिक अन्तरसंघर्ष हो । पार्टीभित्र यस्ता छलफल र बहसहरु हुन्छन् ।’

तर नेताहरुले यही कुरालाई लिएर बाहिर अफवाह फैलाइएको र राष्ट्रपतिले समेत त्यसैलाई आधार मानेको जस्तो आफूहरुले बुझेको भन्दै यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरेका थिए । ‘यो बेकार अफवाह र भ्रम मात्रै हो । यस्ता कुराका पछि नलाग्नुस्, यदि राष्ट्रपतिजीमा भ्रम परेको छ भने मुक्त हुनुस्’ राष्ट्रपतिसँग भएको कुराकानी उदृत गर्दै ती नेताले भने,‘ यस्तो अफवाह कसरी फैलियो भनेर समेत जिज्ञासा समेत राखिएको थियो ।’

नेताहरुले यस्तो भ्रम बालुवाटार निकटका केही व्यक्तिहरुले फैलाएको हुनसक्ने भन्दै प्रोपोगाण्डाका पछि लाग्न नहुने समेत बताएका थिए ।

नेताहरुको धारणा सुनेपछि राष्ट्रपतिले आफूले पनि त्यस्तो सोच्दै नसोचेको बताएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org