ताजा समाचार

स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजान सांसद तामाङको माग

सिन्धुपाल्चोक। स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौं लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं. २ का सांसद शेरबहादुर तामाङले बताएका छन्।

मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरूआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्।

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा २१ असारमा पानी परीक्षण शुरू गरेपछि मन्त्रालयलगायत खानेपानी आयोजनाले सिन्धुवासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन्। स्थानीयवासीको मागलाई सम्बोधन र वातावारणीय प्रभावको मूल्याङकन गरी सिन्धुपाल्चोकको विकास निर्माणकार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा त्यसो नभएकामा खानेपानी मन्त्रालयले गरेको कामप्रति स्थानीयवासी आक्रोशित बनेका हुन्।

सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुःखद् भएको बताए। सिन्धुपाल्चोकमा यति ठूलो काम हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पदाधिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढङ्गले पानी परीक्षण गर्‍याे, त्यो दुःखद् भएको भन्दै सिन्धुवासी पनि सहभागी भएर गर्व महसुस गर्ने बेलामा एकलौटी ढङ्गबाट काम अगाडि बढाइनुले राम्रो सङ्केत नदिएको उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org