ताजा समाचार

सिन्धुपाल्चोकमा बेपत्ता २० जनाको खोजी जारी, नदीले बगाएको आशंका

काठमाडाैँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५, जम्बु र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ ।

बेपत्ता २० जनाको खोजी जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोसीले बगाएको आशंका गरिएको छ ।

चार दिनदेखि स्काभेटर लगाएर खोजी गर्दा पनि बेपत्ताको शव भेटिने सम्भावना न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला-ठूला ढुंगा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्‍न भएको छ ।
उद्धारका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताए । बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ । खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ ।

डिभिजन सडक कार्यालय दोलखाले सुनकोसी नदीले बगाएको जुरेको करिब १५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने सडक निर्माण गरेपछि बाह्रबिसेसम्मको यात्रा सहज भएको छ ।

बाह्रबिसे नगरपालिका ५, खागदल र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन । बाह्रबिसेको खोर्सानीबारीको सडक पूरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव देखिँदैन ।

त्यसका लागि मनसुन हटेर भोटेकोसीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने डिभिजनल इन्‍जिनियर विजयकुमार महतोले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org