ताजा समाचार

यातायात व्यवसायीलाई प्रधानमन्त्रीले भने : समस्या समाधान गर्न सरकारले पहल गर्छ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताएका हुन्।

 

कोभिड-१९ को महामारी पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटर पुगेका यातायात व्यवसायी र मजदुर संगठनका नेताहरूको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्य अनुरूप समाधानमा अग्रसर रहने बताएका हुन्।

 

“कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे। जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ”, प्रधानमन्त्री ओलीले भने, “सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो। सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्ने छ।”

संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाइ थियो। नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या प्रस्तुत गरेका थिए।

प्रतिनिधि मण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदुर संघका धर्मराज भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

यातायात व्यवासायीको प्रतिनिधि मण्डलले आजै बिहान सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए। उनीहरूले हिजो प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org